आज सबैको ध्यान मेस्सी तिर
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार उपाधि दाबेदार अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ ।
अर्जेन्टिनाले लुसेल स्टेडियममा साउदीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र साउदीबीचको खेल कतारी समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ ।
लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रने अर्जेन्टिना कतार विश्वकपमा सानदार सुरुआत गर्न चाहन्छ । ७ पटकको बालोन डी’ओर विजेता मेस्सीलाई यस पटक अर्जेन्टिनालाई विश्वकप दिलाउने अवसर छ ।
अर्जेन्टिना ३६ खेलमा अपराजित रहेको छ । २०१९ मा कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिनाले हार व्यहोरेको छैन ।
लियोनेल स्कोलानीको अर्जेन्टिना विश्वकप छनोटमा समेत अपराजित रहेको थियो ।
यता, साउदी पनि बलियो राष्ट्र अर्जेन्टिनालाई हराएर विश्वकपमा इतिहास रच्न चाहन्छ । तर, साउदीलाई अर्जेन्टिनाविरुद्ध जित निकाल्न कठिन चुनौती हुनेछ ।
साउदीले २०१८ को विश्वकपको उद्घाटन खेलमा रुससँग खेलेको थियो । जहाँ साउदीले ५-० को फराकिलो हार व्यहोरेको थियो । तर, यस पटक अर्जेन्टिनाविरुद्ध साउदी सतर्क भएर खेल्नेछ । साउदीले नकआउट चरण पुग्ने लक्ष्य राखेको छ ।
हेड टु हेड –
अर्जेन्टिना र साउदीबीच हालसम्म ४ खेल भएको छ । जसमा अर्जेन्टिनाले दुई खेलमा जित निकालेको छ । दुई खेल बराबरीमा सकिएको छ ।
सम्भावित सुरुआती-११
अर्जेन्टिना – ई मार्टिनेज, मोलिना, रोमेरो, ओटामेन्डी, अकुना, डी पाउल, परेडेस, म्याक एलिस्टर, मेस्सी, एल मार्टिनेज, डि मारिया
साउदी अरेबिया – अल ओवेस, अल बुरेक, अलअम्री, अल बुलाही, अलशहरानी, कान्नो, अलमल्की, अल शेहरी, अल फराज, अल दासवारी, अल बुराइकन