इ-पासपोर्टको बारेमा थाहा पाउनुपर्ने सबै कुराहरु
ई पासपोर्ट प्रणाली प्रयोगमा ल्याउने कतारमा रहेको दूतावास पहिलो नेपाली दूतावास बनेको छ ।
हालको प्रारम्भिक चरणमा सिमित व्यक्तिका लागि मात्र सेवा सुरु गरिएको छ । अहिले राहदानीको म्याद सकिएका वा तीन महिना भन्दा कम समय बाकी भएकाहरुले मात्र आवेदन दिन दूतावासले बताएको छ ।
के हो इ–पासपोर्ट?
पोलिकार्बोनेटसहितको यो पासपोर्टमा विद्युतीय चिप र एन्टेना जडित हुन्छ। चिपमा औंठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरण राखिन्छन् ।
ती विवरण राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न नसक्ने भएकाले पनि इ–पासपोर्ट विश्वासिलो हुने र यसलाई मेसिन र कम्प्युटरले सहजै रिड गर्न सक्छ। त्यसैले दुरुपयोगको समस्या पनि हल हुने राहदानी विभागको विश्वास छ।
इ–पासपोर्टको कभर पृष्ठमा निशान छापसहित विश्वव्यापी रूपमा प्रचलित चिह्न राखिएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओले) यसलाई सुरक्षित पासपोर्टका रूपमा लिएको छ। हाल विश्वका सयभन्दा धेरै देशले यस्तो पासपोर्ट प्रयोग गरेका छन्। विभागले पनि यो सुरक्षित र विश्वसनीय हुने बताएको छ।
विभागले सात किसिमका इ–पासपोर्ट जारी गर्ने तयारी गरेको छ। हाल कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी ६ किसिमका जारी गर्दै आएकोमा अबदेखि सर्भिस पासपोर्ट थप गरिने विभागका निर्देशक शरदराज आरनले जानकारी दिए।
कुन पासपोर्ट कुन रङका
१. कूटनीतिक राहदानी सिम्रिक रातो
२. विशेष राहदानी आकाशे नीलो
३.सर्भिस राहदानी सुन्तले
४. साधारण राहदानी चकलेटी खैरो
५.यात्रा अनुमति पत्र कालो
६.सिम्यान्स अभिलेख किताब स्लेट खैरो
७.अस्थायी राहदानी चकलेटी खैरो
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भएकाहरूले के गर्ने ?
विभागको अनुसार म्याद भएको एमआरपी छ भने नयाँ इ–पासपोर्ट बनाउन पर्दैन। म्याद भएकाको हकमा विभागले म्याद नसकिएसम्म इ–पासपोर्ट जारी पनि गर्दैन।
‘कतिपयले भर्खरै एमआरपी लिनुभएको छ,उहाँहरूले एमआरपीको मिति नसकिएसम्म इ–पासपोर्ट पाउनु हुन्न।’ विभागका निर्देशक शरदराज आरनले जानकारी दिएका छन् ।
त्यसैले नयाँ आवेदन दिनेहरूले मात्र इ–पासपोर्ट पाउनेछन्। म्याद हुनेहरूले सकिएपछि नयाँका लागि आवेदन दिँदा इ–पासपोर्ट लिन सक्नेछन्।
शुल्क
इ–पासपोर्टको शुल्क भने एमआरपीकै जति लाग्ने विभागले जनाएको छ। सर्वसाधारणलाई दिइने ३४ पृष्ठको राहदानी जिल्ला प्रशासन कार्यालय र नियोगमार्फत बनाउँदा पाँच हजार रूपैयाँ शुल्क तिर्नुपर्छ। ६६ पृष्ठ साधारण पासपोर्ट बनाउँदा दस हजार रूपैयाँ शुल्क तिर्नुपर्छ।
त्यस्तै ३४ पृष्ठको राहदानी दुई दिनभित्र लिने हो भने १२ हजार शुल्क तिर्नुपर्ने राहदानी नियमावली २०७७ मा उल्लेख छ। दुई दिनमै ६६ पृष्ठको राहदानी चाहिए २० हजार शुल्क तोकिएको छ।
राहदानी केरमेट भए, हराए वा च्यातिएर नयाँ बनाउनु पर्दा तोकिएको शुल्कमा थप पाँच हजार तिर्नुपर्नेछ ।
कतारमा राहदानी नवीकरण शुल्क कतारी रियाल १८५ तथा हराएको वा बिग्रिएको हकमा कतारी रियाल ३७० र १० बर्ष भन्दा कम उमेरका बाल बालिकाका लागि कतारी रियाल ९३ पर्नेछ ।
कसरी बनाउने ?
ई पासपोर्ट बनाउन राहदानी विभागको वेबसाईटमा गएर अनलाइन मार्फत मिति र समय बुक गर्नुपर्नेछ जसलाई प्रि इनरोलमेन्ट पनि भनिन्छ । त्यसपछि पाईएको मिति र समयमा आवश्यक कागजपत्र बोकेर दूतावास वा त्रिपुरेश्वरस्थित राहदानी विभाग जानुपर्नेछ । बाँकी काम दूतावास/विभागले गर्नेछ ।
प्रि इनरोलमेन्ट बुकिङ गर्ने तरिका
१. https://emrtds.nepalpassport.gov.np/ मा जाने ।
२. राहदानीको प्रकार छान्नुहोस ।
पहिलोपटक राहदानी बनाउने ( कतारमा जन्मेको वा हस्तलिखित राहदानी भएको अवस्थामा
एमआरपी राहदानी नवीकरण
राहदानी हराएको वा चोरी भएको अवस्थामा
विभिन्न कारणले राहदानी बिग्रेको अवस्थामा
३. सोधिएको अन्य विवरण भर्ने ,आवश्यक कागजात अपलोड गर्ने ।
४. दोहा छानेर उपलब्ध भएको मिति र समय रोजेर एपोइन्टमेन्ट बुक गर्ने ।
५. फारम बुझाउने र आएको बारकोड सहितको फारम डाउनलोड गरि प्रिन्ट गर्ने । दूतावास जाद सो फारम साथमै लाने ।
राहदानी हराएको वा म्याद सकिएको अवस्थामा तुरुन्तै नेपाल जानपरे दूतावासले यात्रा अनुमतिपत्र जारी गरिदिनेछ ।
प्रि इनरोलमेन्ट गर्न चाहिने कागजपत्र
१. नागरिकताको पहिलो र दोस्रो पेज छुट्टाछुट्टै ।
२. हालको राहदानीको पहिलो र पेज ३०,३१ छुट्टाछुट्टै ।
३. १६ वर्ष भन्दा मुनिका बालबालिकाको हकमा आमाबुबाको नागरिकता र बिबाह दर्ता प्रमाणपत्र ।
४. कतारमा जन्मेका बालबालिकाको हकमा यहाँको परराष्ट्र मन्त्रालय र नेपाली दूतावासले प्रमाणित गरेको यहाँबाट जारी भएको जन्मदर्ता प्रमाणपत्र ।
५. माथी सोधिएका सम्पुर्ण कागजपत्र दूतावास जादा साथमा लानुपर्ने ।
One Comment