बिज्ञापन

कतारको नेतृत्वमा अमिरको एक दशक पूरा (विशेष रिपोर्ट)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको कार्यकालले एक दशक पार गरेको छ ।

संस्कृति, आर्थिक वृद्धि र कूटनीतिदेखि खेलकुदको विकास सम्म शेख तमिमको नेतृत्वले संवाद र सांस्कृतिक आदानप्रदानको मञ्चको रूपमा कतार विकास भएको छ।

पिता अमिर शेख हमाद बिन खलिफा अल थानीले देशको नेतृत्व हस्तान्तरण गरेसंगै एक दशक अगाडि आजकै दिन २६ जुन २०१३ मा आफ्नो सपथग्रहणमा अमिरले आफ्ना बुबा लगायत पुर्व अग्रजले अर्थतन्त्रको उन्नति, स्वास्थ्य क्षेत्र र खेलकुद क्षेत्रको विकासमा देखेको सपना पूरा गर्ने वाचा गर्नुभएको थियो ।

छिमेकी राष्ट्र बाट अघोषित नाकाबन्दी समस्याको हल देखि कोरोना माहामारीको नियन्त्रण र विश्वकप आयोजना गर्ने जस्ता प्रमुख चुनौती अमिरकै नेतृत्वमा सफलताका साथ पूरा भएको छ ।

राष्ट्रिय विकास

 

हमाद विमानस्थल

अमिरकै शासनकालमा सन् २०१४ मा हमाद अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन भएको थियो । त्यसयता छोटो समयमा नै विमानस्थल थुप्रैपटक विश्वकै उत्कृष्ट घोषित भैसकेको छ ।

हमाद बन्दरगाह

कतारको व्यापारिक सम्बन्धलाई विस्तार तथा सुदृढ गर्ने उद्देश्यका साथ अमिरले सन् २०१६ मा अत्याधुनिक हमाद बन्दरगाहको उद्घाटन गर्नुभयो जुन विश्वको सबैभन्दा ठूलो “ग्रीनफिल्ड” बन्दरगाह विकास परियोजना हो।

नाकाबन्दीको समाधान

सन् २०१७ को जुन ५ देखि छिमेकी राष्ट्र साउदी अरेबिया,युएई,बहराइन इजिप्टले कतारमाथि लगाएको अघोषित नाकाबन्दी अमिरकै नेतृत्वमा समाधान भएको थियो । छिमेकी देशको १३ बुँदे मागलाई वेवास्ता गर्दै देशको सार्वभौमतामा अडिग बसेर अमिरले समस्या समाधान गर्नुभयो । अन्त्यमा सोहि देशहरुनै घुडा टेक्न बाध्य भए र सन् २०२१ को जनवरी ५ मा नाकाबन्दी फिर्ता भयो । वर्तमान समयमा छिमेकी संग कतारको सम्बन्ध सुमधुर बनिसकेको छ ।

कफाला प्रणालीको अन्त्य

सन् २०२० मा विवादित कफाला प्रणालीको अन्त्य गर्ने कतार पहिलो खाडी राष्ट्र बन्यो । प्रणालीको अन्त्य संगै आप्रवासी कामदारलाई आफुले चाहेको रोजगारदाता परिवर्तन गर्न पाउने बाटो खुल्यो । सोही वर्ष सरकारले कामदारको न्यूनतम तलब एक हजार रियाल खानाको तीन सय रियाल र आवासको पाँच सय रियाल तोकियो ।

मेट्राे

सन् २०१९ मा कतारले यातायात क्षेत्रमा पहिलोपटक मेट्राेको सुविधा पायो ।

विश्वको सबैभन्दा छिटो र चालकविहीन रेलहरू मध्ये एकको दोहा मेट्रोले विश्वकपभरि घरेलु तथा लाखौं अन्तर्राष्ट्रिय प्रशंसकहरूलाई आरामदायी सेवा प्रदान गर्‍यो।

खाद्यान्न उत्पादनमा आत्मनिर्भरता

झन्डै ९० प्रतिशत खाद्यान्न आयातमा निर्भर रहेको कतारले नाकाबन्दी पश्चात् पाठ सिक्यो । त्यसपछि रातारात आफ्नै डेरी तथा पशुधन सुरु गर्यो । सन २०१७ मा ३,४०० गाई आयात गरेर बलद्ना कम्पनीको स्थापना गर्यो र सोही कम्पनी बाट मात्रै डेरी क्षेत्रमा ९५ प्रतिशत कतार आत्मनिर्भर बन्यो ।

त्यस्तै स्थानीय ब्रान्डहरूको विकास र स्थानीय कृषिलाई बढावा दिएर आएको चुनौतीको सामना गर्न द्रुत रूपमा खडा भयो। सन् २०१९ सम्ममा कतारले खाद्य उत्पादनमा शतप्रतिशत आत्मनिर्भरता हासिल गरेको थियो ।

कोरोना महामारी

कतारले कोभिड-१९ प्रकोपको नियन्त्रणमा विश्व स्वास्थ्य संगठन लगायतका विभिन्न निकायहरूद्वारा विश्वव्यापी प्रशंसा पायो । महामारीमा कतारले बीस लाख भन्दा बढी आप्रवासी नागरिकलाई निशुल्क खोप तथा बिरामीको उपचार गर्यो र विश्वको सबैभन्दा कम कोभिड-१९ मृत्युदर कायम राख्यो ।

शुरा काउन्सिलको चुनाव

कतारले सन् २०२१ मा पहिलो पटक शुरा परिषद्को चुनाव गराएर अर्को घरेलु कोसेढुङ्गा हासिल गर्‍यो । यसअघि अमिर बाट सिधै चयन हुने उम्मेदवारको नियम फेरबदल भएर जम्मा ४५ मध्ये ३० जना उम्मेदवारहरू जनताले चुनाव मार्फत चयन गरे ।

निर्वाचनमा ३० जिल्लाहरूबाट जम्मा ६३.५% मतदाता खस्यो जसले कतार प्रजातान्त्रिक प्रणाली तर्फ ढल्किएको देखियो ।

जलवायु परिवर्तनमा चासो

कार्बन उत्सर्जन घटाउन र जलवायु परिवर्तनसँग जुध्ने कतारको योजना अनुसार सन् २०२० मा खाडी क्षेत्रकै सबैभन्दा ठूलो अल खरसाह सोलार पावर प्लान्टको उद्घाटन गरियो ।

१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त पावर प्लान्टले १८ लाखभन्दा बढी सोलार प्यानल प्रयोग गरेर कतारको उच्च विद्युत् मागको १० प्रतिशत पूरा गर्ने लक्ष्य राखेको छ ।

विश्वकपको आयोजना

कतारले मध्यपुर्वमा नै पहिलोपटक फिफा विश्वकपको सफल आयोजना गरेको छ । पश्चिमी मिडियाको नकारात्मक समाचारका बाबजुद कतारले इतिहासकै शान्तिपूर्ण विश्वकप आयोजना गर्यो । विश्वकप मात्र नभएर यो दशकमा ४७० भन्दा बढी अन्तर्राष्ट्रिय खेलकुद पनि दोहामा सम्पन्न भयो ।

आर्थिक विकास

नाकाबन्दीदेखि कोभिड-१९ प्रकोपसम्म अमिरको नेतृत्वमा कतारको लचिलो अर्थतन्त्रले सम्पुर्ण चुनौतिहरू पार गर्दै क्षेत्रकै उच्च आर्थिक वृद्धि दर हासिल गरेको छ।

नाकाबन्दीका बाबजुद आफ्नो राष्ट्र बैंकमा लगभग ४३  बिलियन डलर रिजर्भ गर्न सफल भयो। त्यसैगरी २०२० मा कोरोना महामारीमा कतारले निजी क्षेत्रका लागि २३ अर्ब डलर को आर्थिक प्याकेज समेत प्रदान गर्यो ।

यो एक दशकमा कतारलाई प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को लागि सुरक्षित आश्रयस्थलको रूपमा हेरिएको छ । कतारले सन् २०१९ र २०२२ बीच मात्र एफडीआईको ७० प्रतिशत वार्षिक वृद्धि रेकर्ड गरेको छ। विदेशी लगानी भित्र्याउन कतारले केही वर्ष यता लचिलो वातावरण तयार गर्न सफल भएको छ ।

फिफा विश्वकपले पनि कतारको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । प्रतियोगिता आयोजनाले मात्रै ३२ प्रतिशत घरेलु उत्पादन (जीडीपी) वृद्धि हासिल गर्न मद्दत गर्‍यो। यो वर्ष ३.३ प्रतिशत भन्दा कम रहने पूर्वानुमानको साथ कतारले विश्वको सबैभन्दा कम मुद्रास्फीति दर पनि कायम राखेको छ।

ऊर्जा तर्फ कतारले २०१७ मा सबैभन्दा ठूलो मेगा नर्थ फिल्ड विस्तार परियोजनाको घोषणा गरेसँगै ग्यास क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ।

२८.७५ बिलियन डलरको यो परियोजनाले कतारलाई तरल प्राकृतिक ग्यास (एलएनजी) को एक अग्रणी निर्यातकको रूपमा थप स्थान दिनेछ । परियोजनाको पहिलो चरणले २०२५ सम्म उत्पादन ७७ मिलियन बाट ११० मिलियन टनमा पुग्ने गर्ने अपेक्षा गरिएको छ। जसले देशको अर्थतन्त्र ४३ प्रतिशतले वृद्धि हुनेछ।

ग्यास उद्योगमा कोरोना महामारी र रुस युक्रेन युद्ध पछि विश्वव्यापी ऊर्जा संकटको पुर्ती गर्न कतारको भूमिका बढेको छ ।

अन्तर्राष्ट्रिय मध्यस्थताको हब

यो एक दशकमा कतारको विश्वव्यापी मध्यस्थताका प्रयासहरू र द्वन्द्व समाधान मार्फत कूटनीतिक पहलमा कतार अग्रसर देखिएको छ ।

अफगानिस्तानमा २० वर्ष यता देखि चलिरहेको द्वन्द समाधान गर्न सन् २०२० मा कतारले संयुक्त राज्य अमेरिका र तालिबानलाई एकै ठाउँमा ल्याउन सफल भएको थियो।

वार्ताले अमेरिका र तालिबानबीच दोहा सम्झौतामा एतिहासिक हस्ताक्षर भएको थियो । तालिवानको नेतृत्व स्थापनापछि कयारले एक लाख बढी अफ्घानिस्तान र विदेशी नागरिकको उद्दार गरेको थियो ।

सोमालिया र केन्या बिचको शान्ति सम्झौता र चाद शान्ति सम्झौतामा कतार अर्को महत्त्वपूर्ण योगदान रह्यो ।

त्यस्तै दोहाले गत वर्ष अमेरिका र इरानबीच सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा वार्ताकारको रूपमा कदम चालेको थियो ।

कतारले एक सय भन्दा बढी देशहरूमा ६.४ बिलियन डलर भन्दा बढी सहायता प्रदान गर्दै अन्तर्राष्ट्रिय समुदायमा आफ्नो मानवीय सहयोग विस्तार गरेको छ।

समग्रमा देशको सार्वभौमसत्ता नै प्रमुख विषय मान्दै शान्त निडर र उदाहरणीय शासकको रूपमा ४३ वर्षिय अमिरको एक दशक सफलताको साथ पार भएको देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
9
मनपर्‍यो
खुसी लाग्यो
12
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button