कतारले तत्काल भ्याट प्रणाली लागू नगर्ने
जिसीसी अन्तर्गतको राष्ट्रहरूमा २०१८ देखि कार्यान्वयन गर्ने भनिएको मूल्य अभिवृद्धि कर (भ्याट) कतारमा हाललाई लागू नहुने देखिएको छ।नयाँवर्षको २०१८ बाट छिमेकी राष्ट्र युएई र साउदी अरेबियाले भने राजश्व बढाउन दैनिक उपभोग्य वस्तु तथा अन्य सेवाहरूमा पाँच प्रतिशतले कर प्रणालिको शुरुवात गरिसकेको छ।
गत वर्ष जिसीसी अन्तर्गतको साउदी अरेबिया,युएई,बहराइन,कतार,कुवेत र ओमानले २०१८ भित्र आफ्नो राष्ट्रमा भ्याट प्रणालीको भित्र्याउने सम्झौता गरेको थियो।
“कतारमा भ्याट प्रणाली लागू गर्न विभिन्न क्षेत्र जस्तै राजश्व नीति,कर प्रवाह,सामग्री मूल्य लगायतमा भर पर्नेछ।कतारले हालसालै जारी गरेको व्यापक बजेट अनुसार यहाँ करको प्रणाली शुरू हुँदैन,बरु छिमेकी राष्ट्रहरूमा पर्ने यसको प्रभाव पश्चात कतारले विश्लेषण गर्ने”,दोहा बैंकका कार्यकारी प्रमुख आर सीथारामले कतार ट्रिव्युन पत्रिकामा आफ्नो विचार राखेका छन्।
त्यस्तै पत्रिका अनुसार अन्य व्यवसायीले पनि कतारको हालको स्थितिमा राजश्व श्रोत राम्रै भएकाले करको निर्णय तत्काल लागू नहुने तर्क राखेका छन्। भ्याट प्रणाली लागू गर्न हाल सम्म सम्बन्धित मन्त्रालयबाट कुनै सूचना प्राप्त नभएको र कुनै प्रणाली लागू गर्नु पूर्व तयारीको लागि सरकारले निश्चित समयावधि तोक्ने हुँदा कतारमा तत्काल भ्याट प्रणाली लागू नहुने उनीहरुको जिकिर छ।
भविष्यमा मूल्य अभिवृद्धि करको शुरुवात कतारमा निश्चित भएतापनि नाकाबन्दी बाट बिस्तारै माथि उठ्दै गरेको तत्कालको स्थितिमा भने करको नीति लागू गर्ने वा नगर्ने भन्ने बारे सरकारको तर्फ बाट हालसम्म आधिकारिक निर्णय आएको छैन।