कथा : “सिस्टर”
“सिस्टर”
सामान्यतया: बिहानको ११:३० तिर मर्निङ्ग क्लास सकेर घर फर्किसकेको हुन्थें म कलेजबाट। घर आएर खाना खाईसकेपछि, एक निन्द्रा नसुती नहुने, साह्रै नराम्रो आदत् थियो मेरो। झ्याप-झ्याप बनाउँथ्यो भाते निन्द्राले। एकदिनको कुरो हो, दिउँसो को त्यस्तै ०१:०० बज्न लागेको हुँदो हो। म मस्त निन्द्रामा थिएँ। एक्कासी बजेको फोनको घन्टीले निन्द्रा नै बिच्काईदियो। फोन उठाउँदै बोलेँ:-
“हेल्लो..”
उताबाट केही अत्तालिएको स्वरमा आवाज आयो।
“दाइ, सुन्नुस् न:-प्रकाश सापकोटा लाई चिन्नुहुन्छ नि, होईन..?”
“हजुर..म चिन्छु। मेरो छिमेकी भाइ हो। मेरो साथी हो। किन.. ? के भयो र उसलाई.. ?”
“बाटोमा उहाँको एक्सिडेण्ट भएछ। हामीले देखेर, भर्खरै चितवन मेडिकल कलेजमा ल्याएका छौँ। तपाईं छिट्टो आउनुस् न ल।”
“ए..हुन्छ-हुन्छ। म आईहालेँ” भन्दै खल्ल चिसो पानीले मुख धोएर हतार-हतार लागेँ म हस्पिटल तिर।
२०/२२ कि.मी.को बाटो पनि २०/२२ दिन झैं लामो लाग्दै थियो मलाई त्यसदिन। झनै त्यसै माथि बाटोको मर्मत-सम्हारले गर्दा ट्राफिक जाम। बल्ल-तल्ल हस्पिटल पुगेपछि रिसेप्सनिष्टलाई सोधेर बेड नम्बर पत्ता लगाएँ। म त्यहाँ पुग्दा प्रकाशलाई ईमरजेन्सीबाट वार्डमा सिफ्ट गर्दै रहेछन्।
“मेरो भाइ-साथी, छिमेकी जे भनेनी यही हो। अति मिल्छौँ हामी” भन्दै प्रकाश लाई हस्पिटल सम्म ल्याउन सहयोग गर्ने ति दुई महान् आत्माहरुलाई आभार प्रकट गरेँ ।
केही क्षण पछि उनीहरू लाई बिदाई गरी वार्ड भित्र छिरेर प्रकाशलाई हेरेँ। उफ्.. मुखभरी चिथोरिएका घाउहरु! हात-गोडामा ६/७ ठाउँ टाँका ! म त्यहाँ पुग्ने बित्तिकै आँखा खोल्यो उसले।
“झन्डै मरिन नि दाइ..यार! भाग्यले बँचायो आज मलाई। बेक्कार त्यो स्कुटी लाई फलो गरेको।”
“स्कुटी..?? कसको स्कुटी..? अनि किन फलो गरेको तनि स्कुटी लाई..?” प्रश्न माथि प्रश्न बर्साएँ मैँले उसलाई।
“क्या राम्री केटी थिई यार..दाइ..!”
“चुप लाग हापे..! त्यही केटीको पछि लाग्नाले त यस्तो भयो नि। ड्राईभिङ्ग गर्दा, केटी तिर ध्यान दियो भने..हो..यस्तै हुन्छ। झन्ड पछाडी बाट ट्रिपर आएको रहेनछ। नत्र ठाउँ को ठाउँ ठहरै हुन्थिस्। अब देखि केटीको कुरा गर्ने होईन।” भन्दै उसलाई सम्झाउने क्रममा, अलि ठूलै स्वरमा कराएँछु।
मेरो आवाजले हल्ला भएछ क्या रे, पछाडीबाट, मधुर स्वरमा केटीको अावाज आयो:- “ठूलो स्वरमा नबोलिदिनुस् ल, बिरामीलाई डिष्टर्ब हुन्छ।”
साँच्चै, त्यो सुमधुर आवाज..मन-मस्तिष्क नैँ खल्बलाईदिने खालको थियो। त्यस्तो मिठास, मैँले कुनैपनि चिज या वस्तुमा पाएको थिईन आजसम्म….
भर्खरै मात्र प्रकाशलाई ‘अब केटी तिर ध्यान दिने होईन’ भन्दै सम्झाई रहेको म। पछाडीबाट आएको त्यो आवाजले, पछाडी फर्किएर नहेरी बस्नै सकिन। भाइ प्रकाशलाई अर्ती-उपदेश दिईरहेको म, आफ्नै ध्यान यति छिटै भङ्ग होला जस्तो चाहिं पटक्कै लागेको थिएन। धर्म-संकटमैँ परेँ म त, ति मधुर आवाज कि धनी लाई देखेर।
“खै..अल्लि उता बसिदिनुस् त। बिरामीको घाउ सफा गर्नु पर्यो।” भन्दै सेतो ड्रेस अनि निलो मास्क लगाएकी, ट्रे मा औषधीहरु लिएर हाम्रै नजिक आईन् उनी।
म अलिपर को कूर्सीमा सरेर उनलाई एक टकले हेरि मात्रै रहेँ। प्रकाश आँखा बन्द गरेर पल्टिरहेको थियो बेडमा। उनी केही निहुरिएर घाउ सफा गर्न थालिन्। म उनका आँखा मात्र देखिने गरि लगाएको ‘मास्क खोले नि हुने नि’ भन्ने झिनो आशमा थिएँ। किनकी म साह्रै आतुर थिएँ, त्यो मिठो बोलीको अनुहारलाई दर्शन गर्न।
घाउ सफा गर्दैगर्दा उनले मलाई भनिन्:-
“एउटा औषधी, अबको पैँतालीस मिनेट पछि दिनुपर्ने छ, के तपाईं दिन सक्नु हुन्छ??”
पैँतालीस मिनेट पछि मैँले पुन: उनलाई हेर्न पाउने भएँ भन्ने मनसायले, बाहना बनाउँदै भनेँ:-
“कहाँ सक्नु नि, के लेख्या हो यो। केही बुझेको छैन। मलाई त आउँदै आउँदैन। फिटिक्कै आउँदैन। तपाईँका साथीहरू लाई पनि यस सम्बन्धि पूर्ण ज्ञान छ कि छैन। फेरि केही तल-माथी भैदियो भने! औषधी जस्तो कुरामा न्याग्लेट गर्नु पनि त भएन नि, होईन र..? बरु तपाईं आँफै आएर दिनुस् न है।”
“आउँ न त मैँ आउँने हो, तर पनि तपाईं ले सक्नुहुन्छ कि भनेर सोधेको।” भन्दै प्रकाशको पिठ्यूँमा एउटा पेन किलरको ईन्जेक्शन दिएर गईन् उनी।
उनी गई सकेपछि मैँले प्रकाशलाई सोधे:-“अनि प्रकाश..डिष्चार्ज चाहीं कहिले गर्छ रे त? केही भन्यो? मैँले पनि अघि सोध्नै भुलेँछु सिस्टर(नर्स) लाई।”
“खै दाइ..भोलि तिर हुन्छ होला डिष्चार्ज त। त्यै भन्दै थिईन, तपाईं हस्पिटल आईपुग्नु भन्दा केही समय अगाडी ति नर्सले।
” ला मूला..हो र..? कति छिटो के..? घाउ त ठूलै लाग्या देख्छु त म..! पुरै ठीक नभएसम्म डिष्चार्ज गर्नुहुन्न भाइ।”
“के भन्नु हुन्छ दाइ यार…? सामान्य चोट रै छ, औषधी नियमित लिएर घरमै बेडरेष्ट गर्यो भने दुई-चार दिनमा निको हुन्छ भन्दै थिई त, त्यो नर्सले। के तपाईं लाई म हस्पिटल मैँ बसिदिए हुन्थ्यो जस्तो लाग्छ? भोलि नभए पर्सी सम्ममा त पक्कै डिष्चार्ज गरिदिन्छ दाइ, मलाई।”
लगभग पैँतालीस मिनेट पछि पुन: उनी औषधी र घाउ सफा गर्ने सामान लिएर आईन् र भनिन:-
“बिरामीको अलिकति लुगा खोलिदिनुस् त।”
मैँले प्रकाशको लुगा अलिकति खोलिदिएँ। धड्कन तिब्र गतिमा बढ्दै थियो मेरो। उनले लगाएकी अत्तरको बासनाले, कतै गुलाबकै फूल नैँ त छैन मेरो वरिपरि भन्ने भान हुँदैथियो मलाई। उनका गाजलु ति ठूला-ठूला आँखा। नमिलाईएका भएपनि साह्रै राम्रा देखिने ति दुई आँखी भौँ हरु। कालो र बाक्लो कपाललाई चूल्ठो बनाई, त्यसमा कलम सिहुरिएकी। शीर देखि पाउ सम्म उनलाई नियालेर कत्ति पनि था केनन् मेरा दुई आँखा हरु। उनी उभिएको बेला सामान्य ढङ्गले, आँफू पनि उभिएर उनको हाईट नापेँ, हाईट मिल्यो। त्यही बेला उनले हाच्छियूँ गर्दै मास्क खोलिन्। हाय..चन्द्रमा नि ईर्ष्याले भुतुक्कै हुने खालको उनको रुप। झनैँ त्यसैमाथि पूर्णिमाको जूनमा प्रष्ट देखिने कालो दाग जस्तै तल्लो ओँठ मूनि चिउँडोको दाहिने भागमा सानो कालो कोठी, ठ्याक्कै मेरै जस्तो। ति गुलाबी ओँठहरू। टम्म मिलेका अनारका दाना जस्ता चम्किला दाँतका पँक्ती..उफ्…!! म बेहोश नैँ पो हुन्छु कि जस्तो भएँ। उनलाई देखेपछि एकोहोरो टोलाईरहन मन लाग्यो। उनका ति कोमल हातले मलाई श्पर्स गर्दै, उनले भनिन:-
“उहाँको दाहिने गोडा समाईदिनुस् न ल। म यो एउटा औषधी सिरिन्जबाट लगाई दिन्छु।”
“हस् ! हुन्छ ! भैहाल्छ नि!”
औषधी को बट्टालाई माथि पारेर, सिरिन्जमा औषधी भर्दै, उनी निहुरिन थालिन्। जब उनी निहुरिईन्, उनको सेतो कोटको खल्तीबाट आ.डी. भूईँमा खसेर घुम्न थाल्यो
घुम्दै गरेको उनको आई.डी.मा, मैँले नाम खोज्न थालेँ र मनमनै सोँचे: –
“नाम पत्ता लगाउँछु र फेसबूक मा उनको नाम सर्च गरी फ्रेन्ड रिक्वेस्ट पठाउँछु। यदि फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिनन् भने, म्यासेज द्वारा रिक्वेस्ट पठाउँछु।”
जसरी भएपनि फकाएर पट्याई छाड्ने चाहनाले डेरा जमायो मेरो मन-मस्तिष्कमा। घुमिरहेको उनको आई.डी.बिस्तारै-बिस्तारै रोक्किदै थियो। जसोतसो नाम पढ्ने आँट् गर्दै ति मसिना अक्षरहरू लाई नियालेर हेरेँ। ईप्शि..अनि त्यसपछि के हो यार..? हरे..कस्तो नदेखिएको..! (आँफैले आँफैलाई प्रश्न गरेँ।)
‘ईप्शिता’। आहा..कति मिठो नाम ‘ईप्शिता’ ! मन साह्रै फुरुङ्ग भयो मेरो।
बल्ल-बल्ल नाम त पढेँ। तर, ईप्शिता त धेरै होलान् फेसबूक मा। कसरी चिन्नु फेरि..? थर पत्ता नलगाए सम्म त गाह्रो पो हुने भो त भन्ने सोँची फेरि आई. डी.पढ्ने कोशिश गरेँ। तर उनी त सिरिन्ज हानेर आई. डी.टिपी जाने तरखर पो गर्न थालिन्। लौ पर्यो बित्यास्..! मलाई उनको थर पत्ता लगाउन नपाएकोमा साह्रै छट्पटी हुँदैथियो। अनि अचानक मेरो दिमागमा एउटा बक्लोल आईडिया जन्मियो। जानी-जानी प्रकाशलाई सिरिन्ज हानिसकेपछि लगाईएको कटन्(कपास) निकालेर फ्याँकिदिएँ र उनलाई भनेँ:-“एक्सक्यूज मी सिस्टर..कटन् त खसेछ त। सिरिन्ज हानेको ठाउँबाट ब्लिडिङ्ग पनि भैरहेको छ। अर्को कटन् लगाईदिनुस् न प्लिज।”
“हुन्छ” भन्दै एक टुक्रा कटन् निकालेर लगाईदिन उनी फेरि निहुरिईन्। संजोग भनौँ या के..जब उनी निहुरिईन्, आई. डी. उसैगरी भूईंमा खस्यो र घुम्न थाल्यो, जसरी पहिला घुमेको थियो। सायद उनले आई. डी. खल्तीमा त्यति राम्ररी राखेकी थिईनन् होला। नाम त मैँले पत्ता लगाईसकेको थिएँ। तर मलाई जसरी भएपनि उनको थर पत्ता लगाउनुथियो। घुम्दै गरेको आई. डी.मा थर खोज्न थालेँ। अगाडीको अक्षर (ख ) देखेँ। सायद , खड्का ,खरेल खकुरेल , खानिया केही होला भन्ने अनुमान् गरेँ मैँले।
त्यसपछि ख..देखेँ।
खन..पनि देखेँ। घुमिरहेको आ. डी. रोक्कियो। खुशी भएँ। आई. डी. रोक्किएपछि, हतार-हतार आ.डी. नियालेँ। अफसोस्……. आई.डी.मा उनको थर देखे पछि एकछिन त तीन किलाको घनले टाउकामा प्रहार गरे जस्तै, रन्थनिएँ म। टाउकै फनन घुमे झैं लाग्न थाल्यो। वरिपरि सबै चिज धमिलो लाग्न थाले। बेहोश नैँ हुन्छु जस्तो भएँ। अनि बिस्तारै उनलाई सोधेँ:-
“बैनी, बिरामीलाई आजै डिष्चार्ज गर्न मिल्दैन र?”
” किन र आजै..? अघि त पुरै ठीक भएपछि मात्रै डिष्चार्ज गर्ने भन्दै हुनुहुन्थ्यो त साथीसँग। आजै त अलि मिल्दैन होला। तपाईं नैँ हो उहाँको कुरुवा?”
“हजुर.. मैँ हो..!”
“ए..अनि तपाईंको नाम..?”
“राजन..!”
“राजन। अनि..??”
“राजन खनाल..” मैँले भासिएको स्वरमा आफ्नो परिचय खुलाएँ।
“ए…हामी त दाजु-बहिनी पो परेछौँ। म पनि खनाल हुँ। ईप्शिता खनाल।”
“सुन्नुस् त दाइ:- यो औषधी लिएर आउनुस् ल, एकछिन पछि बिरामीलाई दिनुपर्छ।” भन्दै एउटा कागज मेरो हातमा थमाईदिईन्।
मुन्टोले “हुन्छ” को ईशारा गर्दै उनले हातमा थमाई दिएको प्रिक्रिप्सन लिएर गह्रौँ पाईला चाल्दै लागेँ म फारमेसी तिर…..
लेखक : राजन खनाल
khanalrajan90@gmail.com
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो