कविता : सम्झने मनहरु
समय र परिस्थितिवश
आज म ओझेल परेको बेला
सल्बलाएका छन् जो कोही
हरतरहले मलाई मेटाउन खोज्नेहरू
मेरो सत्य, आस्था र बिश्वासको धरोहर
मेरो मनको मेरो सगरमाथाको
उँचाई घटाउन खोज्नेहरू
चल्मलाएका छन् आजकल
मेरै शहरमा।
म तिर्खाएर छटपटाउँदै पानी मागिरहेको बेला
मेरै गला रेटाउन खोज्नेहरु
अगाडि गला मिलाएर
पछाडि छुरी रोप्नेहरू
सल्बलाएका छन् आजकल
मेरै शहरमा।
हिजो म मा के देखेर कुन्नी
बिहान सबेरै देखि राती अबेरसम्म
मेरै वरपर लुटपिटिएको
देख्नेहरू पनि जिउँदैछन्
हामी बीच छुट्टयाउनै नसकिने
नगं मासुको सम्बन्ध भनेर
लेख्नेहरू पनि जिउँदैछन्
तर के थाहा ती अबिश्वासी आत्माहरूलाई
म मा परेको ओझेल क्षणिक मात्र हुनसक्छ
प्रकाश तिम्रो पनि हुनसक्छ मेरो पनि हुनसक्छ
ओझेल र शीतल बीचको
फरक छुट्टयाउन नसकेर
मान्छे दोधारमा अडकिएका छन् आजकल
मेरै शहरमा।
अनि
ज़िन्दगीमा अरुलाई मेटाउन खोज्ने
अरूलाई रेट्न खोज्ने
कुनै दिन कुनै क्षण
निमेषभरमै
आफै मेटिन पनि सक्छ
आफै रेटिन पनि सक्छ
सत्य त यो मात्र हो
रेट्ने हतियार खुकुरीले
बनाउनेको मात्र घाँटी चिन्दैन
यसलाई त बश
एक पटकमै छिनाल्नुमा जो मजा छ
रेटने र छिनाल्नेका बीच
मान्छे अल्मलिएका आजकल
मेरै शहरमा।
यी सपनाका कुरा संझने मनहरूलाई
यी कल्पनाका कुरा बिर्सने क्षणहरुलाई
तिमीले नै हो लड्न सिकाएको हिजो मलाई
म त्यसै आत्मसमर्पण कहाँ गर्छु र मित्र ?
मलाई सिध्याउन खोज्नेहरु पनि
तिल्मिलाएक् छन् आजकल
मेरै शहरमा।