बिज्ञापन

चितवन राइनोजलाई तनविर र बोपराजस्ता अनुभवी खेलाडीको साथ,नेपाली खेलाडी चम्केपछि झन उत्साहित

चितवन,मंसिर १८-

चितवन राइनोजले विदेशी खेलाडी अनुबन्धन गर्दैगर्दा पाकिस्तानी मुलुकका ३९ वर्षीय सोहेल तनविरलाई धेरैले चासोका रुपमा हेरेका थिएनन्। त्यसो त लामो समय पाकिस्तानी टिमको अनुभव बटुलेका र फ्रेन्चाइज क्रिकेटमा पोख्त तनविर स्वभाविक रुपमा एनपिएलमा आउने टेस्ट राष्ट्रका बलिया खेलाडीमा पर्ने नै भए। तर, उनले दुई खेलमा गरेको प्रदर्शन वर्तमान राष्ट्रिय टिममा भएका पाकिस्तानी बलरभन्दा कमी ढल्कँदो उमेरमा पनि नरहेको स्पष्ट देखाएका छन् तनविरले। उनले चितवनका लागि दुई खेलमा ८ विकेट लिइसकेका छन्।

तनविरले एकै ओभरमा ३ विकेट लिएर मंगलबार सनसनीपूर्ण प्रदर्शन गरे। पहिलो ओभरमै तीन विकेट लिएपछि पोखरा एभेन्जर्स धारासायी बन्यो। तनविरले उक्त कीर्तिमानी प्रदर्शन गरेको दुई ओभरपछि नै नेपाली युवा स्टार रिजन ढकालले त्यस्तै उपलब्धि हासिल गरे। अर्थात उनले पनि एकै ओभरमा ३ विकेट लिए। खेलपछि रिजनले आफ्नो उपलब्धि शब्दमा बयान गर्न नसकिने रहेको प्रतिक्रिया दिए। रिजनले आत्मविश्वास बढ्दै गएको बताए। यद्यपि तनविरले भने अघिल्लो खेलमा पाँच विकेट लिएकाले टियूको पिचलाई राम्रोसँग बुझिसकेका थिए। परिणामतः उनले पहिलो ओभरमै आफ्नो अनुभवी बलिङ स्पेलको प्रयोग गर्दै पोखरालाई धारासायी बनाए।

सन् २००८ मा आइपिएल टोली राजस्थानबाट उपाधि जितेका तनविर एक वर्षपछि पाकिस्तानले टी–२० विश्वकप जित्ने टोलीका महत्वपूर्ण सदस्य बनेका थिए। त्यसो त उनले पहिलो आइपिएल सहभागितामै सनसनीपूर्ण रेकर्ड बनाएका थिए। तनविरले चेन्नई सुपर किंग्सविरुद्ध ४ ओभर बलिङ गर्दा १४ रन खर्चिएर ६ विकेट लिए। ४ मे २००८ मा जयपुरमा बनाएको यो कीर्तिमान ११ वर्षपछि वेस्टइन्डिजका अलजारी जोसेफले २०१९ मा मुम्बईबाट खेल्दै हैदराबादविरुद्ध ३.४ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिएर उनलाई दोस्रो स्थानमा धकेलेका थिए।

जोसेफ, तनविर र एडम जाम्पाले मात्र एकै इनिङमा ६ विकेट लिने कीर्तिमान आइपिएलमा राखेका छन्। अर्थात्, आइपिएल इतिहासमा आफ्नो ४ ओभरको स्पेलमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा तनविर कायम छन्। तिनै तनविरले सोमबार मात्र काठमाण्डु गोर्खाजविरुद्ध ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर पाँच विकेट लिए। १६ वर्षपछि आइपिएलको झल्को दिने गरी प्रदर्शन गरेका तनविरले मंगलबार पुनः एकै ओभरमा ३ विकेट लिएर आफू कुन स्तरको खेलाडी हो भन्ने कुराको प्रमाणित गरेका छन्।

उनले आफै ४०० बढी टी–२० खेलको अनुभवको प्रयोग गरिरहेको बताएका छन्। उनले टी–२० क्रिकेटमा ३ सय ८८ खेलबाट ३ सय ८९ विकेट लिएका छन्। पाकिस्तानका लागि २ टेस्ट र ६२ एकदिवसीय र ५७ टी–२० अन्तर्राष्ट्रिय खेलेका तिनै तनवीर अब एनपिएलमा सबै टिमको टाउको दुखाइ हुने पक्का छ।

सुरुमा तुलनात्मक रुपमा अन्डररेटेड चितवन एकाएक तनविर र रवि बोपराजस्ता अनुभवी खेलाडीको साथले उत्साही मात्र भएको छैन, अब उपाधि दाबेदारीमा अघि बढेको छ। यस्तोमा यिनै खेलाडीको अनुभव र प्रशिक्षण सेयर गर्न पाएका रिजन ढकालजस्ता युवा नेपाली खेलाडीहरुले सोही लय पछ्याउँदै जादुमयी बलिङ सम्हालेपछि स्वभाविक रुपमा टिमको मनोबल बढ्ने नै भयो। बाँकी दिनमा चितवनले अझै कसरी आफूलाई स्थापित गर्दै लैजान्छ त्यसले एनपिएल ट्रफीमा उसलाई नजिक लान सहयोग मिल्ने पक्का छ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button