नेपालको एयरपोर्टदेखि क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न चाहन्छौं : नेपालका लागि कतारका राजदूत
नेपालका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ बीन मोहम्मद अल थानीले हिजो शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युसुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरे ।
भेटमा राजदूत युसुफले सन् २०२२ कतारमा हुने विश्वकप फुटबलका लागि निर्माण भइरहेकाे रङ्गशालामा नेपाली कामदारले गरेको कामको प्रशंसा गर्नुभएको छ । नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतारले तयार रहेको समेत जनाउनु भएको छ ।
भेटमा सभामुख सापकोटाले ४२ वर्षदेखि नेपाल र कतारबीच मित्रवत् सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रमण वर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद दिनुभयाे ।
सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुटबलको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापीरुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्तरुपमा पहलकदमी लिनुपर्ने बताउनुभयो ।
राजदूत युसुफले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एअरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै नेपालकाे एअरपोर्ट सुधारमा सहयोग गर्न, नेपालको स्वास्थ्य शिक्षा क्षेत्र लगायत नेपालमा क्रिकेट रङ्गशाला निर्माण गर्न कतार तयार रहेको सभामुखको सचिवालयले जनाएको छ ।
#qatarnepal #qatar #nepal