पहेँलो बक्स भित्र सवारी रोके ५०० रियाल जरिवाना
सिग्नल जडित रोडहरुमा भएको पहेँलो बक्स भित्र सवारी रोके जरिवानामा परिने ट्राफिक विभागले बारम्बार जानकारी गराउँदै आएको छ । हरियो ट्राफिक बत्ती पछि सडक पार गर्ने क्रममा बक्सको बीचमा रोक्दा विपरित दिशा बाट आउने सवारीलाई अवरोध हुने र सडक जाम सँगै दुर्घटनाको जोखिम पनि बढ्ने गर्दछ ।
केही दिन अघि ट्राफिक विभागले सुरु गरेको “दुर्घटना रहित शिविर” अन्तर्गत पहेंलो बक्स बारे सर्वसाधारणलाई जागरण गराउने मुख्य उदेश्य रहेको थियो। हरियो बत्ती बलेको अवस्था भएपनि बक्स भित्र सवारीको चाप रहे बक्स भित्र नआउन ट्राफिक विभागले सतर्क गराएको छ।
ट्राफिक नियम अन्तर्गतको कानुन नं ७२ अनुसार अत्यावश्यक सवारी साधन बाहेक हरियो बत्ती पछि पहेंलो बक्स भित्र सवारी रोकेर अन्य दिशाको सवारीलाई अवरोध पुर्याउनु सवारी नियमको ठूलो उल्लंघन हुनेछ।
उक्त अवस्थामा निगरानीमा राखिएको क्यामेराले तीन वटा फोटो खिच्दछ र त्यसमध्ये नियम उल्लंघन गरेका सवारी कारबाहीमा पर्नेछन्। नियम उल्लंघन गरेमा ५०० रियाल सँगै तीन कालो पोइन्ट जरिवाना हुनेछ।
के हो एल्लो(पहेंलो) बक्स ?
सिग्नल भएको चोकमा चारै दिशाको रोडको साझा हिस्सा नै पहेंलो बक्स हो। यो बक्स भित्र सवारी रोकेमा अन्य दिशाको सवारीलाई बाटो अवरोध हुनेछ भने दुर्घटनाको जोखिम पनि उत्तिकै रहनेछ।