फाइनलको लागि आज नेपाल र बाङ्लादेश भिड्दै
साफ च्याम्पियनसिपमा नेपालले आज दुई बजे प्रतिद्वन्द्वी बाङ्ग्लादेशसँग खेल्दैछ।
आजको खेलबाट नेपालले प्रतियोगिताको फाइनलमा पुग्न कम्तीमा एक अङ्क अर्थात् बराबरी मात्र भएपनि गर्नुपर्नेछ । तर हारेको खण्डमा प्रतियोगिता बाटै बाहिरिने छ ।
खेलमा सोचे जस्तो नतिजा आए साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा नेपाल पहिलो पटक उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । तसर्थ आजको खेल धेरै अर्थमा महत्त्वपूर्ण छ।
हेड टु हेड
नेपाल र बाङ्लादेशबीच तीन दशक लामो फुटबल इतिहासमा जम्मा २२ पटक आमनेसामने खेल भएका छन्।
तीमध्ये १३ खेलमा बाङ्ग्लादेश र ७ खेलमा मात्र नेपाल विजयी भएको छ। दुई खेल बराबरीमा टुङ्गिएको छ।
साफ च्याम्पियनशिपमा मात्र यी दुई देश सात पटक भिडेका छन्, जसमा ४ जित बाङ्ग्लादेशको नाममा छ भने नेपालले ३ जित हासिल गरेको छ।
सात महिना अगाडि काठमाण्डूको दशरथ रङ्गशालामा आयोजना भएको थ्री नेसन्स कपको फाइनलमा नेपालले बाङ्ग्लादेशलाई २-१ ले हराएको थियो ।