फिफा विश्वकप फुटबलको ड्र अप्रिलमा हुने
यसै वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलको ड्र आउने अप्रिल महिनाको सुरुवातमा दोहाबाट सार्वजनिक गरिने भएको छ ।
नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुने फिफा विश्वकपका लागि हालसम्म कतार ,जर्मनी ,डेन्मार्क ,फ्रान्स ,बेल्जियम ,क्रोएसिया , स्पेन , सर्बिया , बेलायत, स्विजरल्यान्ड, नेदरल्यान्डस् , ब्राजिल र अर्जेन्टिना छनौट भएका छन् ।
त्यतिबेलासम्म विश्वकप खेल्ने सबै देशको टुंगो नलागेपनि ड्र सार्वजनिक हुने फिफाले बताएको छ । कोभिड-१९ महामारीका कारण ढिला भएको अन्तरमहादेशीय प्लेअफ जुनमा मात्र हुनेछ।
कसरी हुन्छ विश्वकपको ड्र ?
फिफाका अनुसार ड्र मा ३२ टिमलाई ८ समुहमा विभाजन गरिने छ ।
फिफाको हालको वरियता अनुसार शिर्ष वरियताका ७ टिम र आयोजक कतारलाई एउटा पटमा राखिने छ । त्यसपछिका वरियताका ८ टिमलाई अर्को पटमा राखिने छ । यसै गरी ३२ टिमलाई ४ पटमा विभाजन गरिने छ । यसरी हरेक समुहमा चार टिम छानिने छ । कतार आयोजक भएको हिसाबले समुह ए मा रहने फिफाले जनाएको छ ।