मर्करी मीना कम्पनीका २२ कामदारले अझै तलब पाएनन्
कतारको मर्करी मीना इलेक्ट्रोमेकानिकल कम्पनीबाट तलब नपाई फर्किएका श्रमिकलाई बाँकी तलब लिनको लागि सात दिनभित्र सम्पर्क गर्न वैदेशिक रोजगार विभागले गएको हप्ता अनुरोध गर्यो । समाचार सुनेर कपिलवस्तुका सकिल अह्मद खुशी भए तर लिस्टमा आफ्नो नाम नदेखेपछी उनलाई रुनु न हास्नु भयो । उनिहरु प्राय अहिले विभिन्न खाडी मुलुकमा कार्यरत छन् ।
अह्मद संगै जम्मा ५५ जनाको समूहले वैदेशिक रोजगार विभागमा आफुले पाउनुपर्ने तलबका लागि उजुरी दिएका थिए । ती मध्ये ३३ जनाले तलब भुक्तान गरिसकेका छन् । तर बाँकी २२ जनाको तलब अझै किन रोकियो भन्नेबारे उनीहरु अन्योलमा छन् ।
“सबैजना मिलेर संगै निवेदन दिएका थियो । हाम्रो मात्रै तलब किन रोकियो हामीले बुझ्न सकेनौं “,अह्मद सुनाउँछन् ।
त्यसपछि पनि उनीहरुले आश राख्दै फेरि एम्नेष्टी इन्टरनेशनल, वैदेशिक रोजगार विभाग र कतारमा रहेको नेपाली दूतावासमा बाँकी रकम पाउँ भन्दै पुनः निवेदन दिए । तर त्यसको एक महिना बित्दा पनि कतै बाट अत्तोपत्तो खबर छैन।
“अझ वैदेशिक रोजगार विभागले त हुन्छ हुन्छ मात्रै भन्छ । फोन गरे १० सेकेन्ड भन्दा बढी कुरा गर्न मान्दैन । यता कतारस्थित नेपाली दूतावासमा पनि निवेदन दिएको दुई हप्ता हुन लाग्यो ,त्यहाँ बाट पनि आश मात्रै दिलाएका छन् । कहिँ कतै बाट भएपनी हाम्रो आवाज सुनिदिनु पर्यो” , अह्मद दुखेसो पोख्छन् ।
उनीहरुले काम गरेबापतको ३ देखि ६ महिनासम्मको २ लाख ८५ हजार कतारी रियाल अर्थात झण्डै ८५ लाख रुपैयाँ लिन बाँकी छ । मर्करी मीना कम्पनी सन् २०१७ मै बन्द भइसकेको छ ।
नेपालबाट अल एसिया इन्टरनेशनल प्रालि, राकी इन्टरनेशनल प्रालि, प्याराडाइज इन्टरनेशनल प्रालि, वल्ड भिजन इन्टरनेशनल म्यानपावर र स्काइवेज सर्भिस् प्रालिबाट र केही श्रमिक भने व्यक्तिगत पहलमा श्रम स्वीकृति लिएर मर्करी मीना कम्पनीमा गएका थिए ।