मल भित्र मास्क लगाउन नपर्ने तर पसल भित्र पर्ने
कोरोनाभाइरसको दैनिक संक्रमण कम हुँदै गएसंगै कतारको मन्त्रीपरिषदले महामारी नियन्त्रण गर्न लगाएको प्रतिवन्ध थप खुकुलो बनाउने निर्णय गरेको छ ।
गएको जनवरीमा देखिएको भाइरसको तेस्रो चरणको महामारी नियन्त्रणमा आएपछि जनजीवन सामान्य अवस्थामा फर्काउन प्रतिवन्ध खुकुलो पारिएको हो ।
आज पारित भएको नियम अनुसार अब मल भित्र मास्क लगाउन नपर्ने भएको छ । यद्यपि मल भित्रको पसल प्रवेश गर्दा मास्क अझै अनिवार्य छ ।
नयाँ नियम अप्रिल २ तारिक शनिबारदेखि लागू हुने सरकारले बताएको छ ।
सार्वजनिक बन्द स्थान :
पूरा खोप लगाएका, कोभिड-१९ बाट निको भइसकेका र अन्य स्वास्थ्य समस्याका कारण खोप लगाउन नपाएका व्यक्तिले कुनै पूर्व परीक्षणको आवश्यकता बिना नै बन्द सार्वजनिक स्थानमा प्रवेश पाउनेछन् ।
यद्यपि खोपको तीनवटै डोज पूरा नगरेकालाई २४ घण्टा अघि र्यापिड एन्टिजेन परीक्षण गरेपछि मात्र त्यस्ता स्थानमा प्रवेश दिइनेछ । त्यस्ता तोकिएको स्थानमा पनि खोप नलगाएका २० प्रतिशत भन्दा बढी व्यक्तिलाई प्रवेश दिन नपाउने निर्णयमा उल्लेख गरिएको छ ।
तोकिएका स्थान :
जिम कल्ब , विवाह पार्टी, खेलकुद गतिविधि , सम्मेलन, प्रदर्शनी, रेस्टुरेन्ट र क्याफे, मनोरञ्जन पार्क र मनोरन्जन स्थल, स्विमिङ पुल, वाटर पार्क, थिएटर र सिनेमा हल।
मस्जिद
शुक्रबारको प्रार्थना गर्नेले अब सामाजिक दुरी कायम गर्नु नपर्ने भएको छ । मस्जिद भ्रमण गर्दा एहतेराज एप देखाउन पनि आवश्यक छैन ।
तोकिएका मस्जिदको शौचालय तथा हातखुट्टा धुने स्थान खुला राख्न पाइनेछ । बालबालिकालाई पनि सबै प्रार्थनाको लागि प्रवेश अनुमति दिइनेछ।
कार्यस्थल
निजी तथा सार्वजनिक क्षेत्रमा सबै कर्मचारीहरूले आफ्नो कार्यस्थलबाट पूर्ण क्षमतामा काम गर्न पाउनेछन् खोप नलगाएका कामदारले अझै पनि भाइरसबाट मुक्त छन् भनी सुनिश्चित गर्न साप्ताहिक र्यापिड एन्टिजेन परीक्षण गर्न आवश्यक छ। यद्यपि भाइरसबाट निको भइसकेकाहरूले परीक्षण गर्नु पर्दैन ।
यातायात
सार्वजनिक तथा निजि सबै यातायात शतप्रतिशत क्षमतामा सञ्चालन गर्न पाईनेछ । यात्रु तथा कर्मचारीलाई मास्क अझै अनिवार्य गरिएको छ ।
मास्क
मल बाहेक मल भित्रको पसल तथा सबै सार्वजनिक बन्द स्थानमा मास्क अझै अनिवार्य गरिएको छ ।
सबै नागरिक र बासिन्दाहरूले कुनै पनि कारणले घर बाहिर निस्कँदा आफ्नो स्मार्टफोनमा एह्तेराज एप सक्रिय गरेर मात्र हिंड्नु पर्नेछ ।
One Comment