रमादान महिनाभर सरकारी कार्यालयमा पाँच घन्टा मात्र काम हुने
कतारको न्याय तथा मन्त्रिमण्डल मामिला मन्त्रालयले आज सूचना प्रकाशित गर्दै यो वर्षको रमादान महिनाको लागि कार्य समय तोकेको छ। सरकारले मार्च ११ देखि सुरु हुने रमादान महिना भर सरकारी कार्यालय,मन्त्रालय,तथा अन्य सरकारी निकायको लागि कार्य समय तोकेको हो।
सूचना अनुसार रमादान १४४४ ए एच महिना अवधिभर सरकारी कार्य समय बिहान ९ बजे बाट दिउँसो २ बजे सम्म तोकिएको छ । त्यस्तै दिनको ५ घन्टा काम गर्नेगरी कर्मचारीले बिहान १० बजे सम्म ढिला गर्न पाउनेछन् ।
निजी संस्थाको लागि
कतारी श्रम कानून अनुसार रमादान महिनामा सुरक्षा गार्ड,अस्पताल जस्ता संवेदनशील क्षेत्रमा कार्यरत कामदार बाहेक रोजा नबस्ने मुस्लिम तथा गैर मुस्लिम सबै कामदारहरूले दिन वा रात गरेर जम्मा ६ घण्टा काम गर्नुपर्ने कतारी श्रम कानूनमा उल्लेख छ।
रोजा बस्ने कामदारहरुले भने जम्मा ६ घण्टा मात्र काम पाउनेछन्। यो साविकको कार्य समय भन्दा २ घण्टा कम हो। त्यस्तै अत्यावश्यक कामको स्थितिमा थप २ घण्टा ओभरटाइम दिने हिसाबले निजी संस्थाहरुले कामदारलाई काम लगाउन पाउनेछ।
दिनको जम्मा ६ घण्टा बढी काम लगाई ओभरटाइम नदिएको खण्डमा कामदारले श्रम मन्त्रालयको हटलाइन नम्बर १६००८ मा उजुरी गर्न पाउनेछन् ।