राष्ट्रिय ठेगाना कानून भोलि बाट लागू हुँदै
आफ्नो विवरण कतार सरकारलाई बुझाउनुपर्ने कानून भोलि २७ जनवरी बाट लागू हुने भएको छ । आन्तरिक मन्त्रालयको कानूनी मामिला विभागका प्रमुख सलिम अल मुलैखीले राष्ट्रिय ठेगाना कानून (२०१७ को कानून नम्बर २४) लागू गर्न प्रक्रिया तथा तयारी सकिएको र यो भोलि देखि लागू हुने बताएका छन् । विवरण भोलि देखि जुलाई २६ तारिक भित्र बुझाईसक्नु पर्नेछ ।
कागजी ठेगाना प्रणालीलाई डिजिटल प्रविधीमा लग्दै विधुतिय सरकारको विकास गर्न यस कानूनको मुख्य रणनीति रहेको मन्त्रालयले भनेको छ ।
सार्वजनिक सुरक्षा अन्तर्गतको राष्ट्रिय ठेगाना विभागका प्रमुख कर्नेल अब्दुल्ला जाएद अल सह्लीले ठेगाना रजिस्टर गर्ने प्रक्रिया निकै सजिलो हुने बताएका छन् ।
के के बुझाउनु पर्ने ?
कतारमा रहेका सम्पुर्ण नागरिक तथा आप्रवासीले आफ्नो हालको ठेगाना ,फोन नम्बर,ईमेल ,कम्पनीको ठेगाना र आफ्नो स्थायी (स्वदेश) ठेगाना सरकारलाई बुझाउनु पर्नेछ ।
आफ्नो विवरण कसरी बुझाउने ?
कानून लागू भएपछि सरकारलाई आफ्नो विवरण मन्त्रालयको वेबसाईट , मोबाईल मार्फत मेट्राश २ एप वा नजिकै रहेको आन्तरिक मन्त्रालयको सेवा कार्यालयमा गएर बुझाउन सकिन्छ । विभाग ओनैजा सेवा कार्यालयमा आधारित हुनेछ । नाबालकको हिसाबमा अभिभावक मध्य कोहि जिम्मेवार बसेर विवरण भर्नुपर्नेछ ।
नबुझाए के हुन्छ ?
कानून लागू भएको ६ महिना भित्र आफ्नो विवरण नबुझाए राष्ट्रिय ठेगाना कानून अन्तर्गत धारा ६ बमोजिम १० हजार रियाल सम्मको जरिवाना हुनसक्ने कानूनमा उल्लेख गरिएको छ ।