हय्या कार्ड दुई स्थान बाट जारी गर्न सकिने
विश्वकपको खेल हेर्न अनिवार्य गरिएको हय्या कार्ड दुई स्थान बाट जारी गर्न सकिने भएको छ ।
अलि बिन हमाद अल अत्तिया एरिना र दोहा कन्भेन्सन सेन्टरबाट प्रतियोगिताको टिकट खरिद गरिसकेका व्यक्तिले मात्र हय्या कार्ड निकाल्न पाउने सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले बताएको छ । दर्शकले सोहि स्थानबाट हराएको हय्या कार्ड पनि निशुल्क निकाल्न पाउनेछन् ।
यद्यपि हय्या कार्डको प्रिन्ट कपि अनिवार्य भने छैन । दर्शकले आफ्नो मोबाईलमा हय्या एप डाउनलोड गरेर पनि हय्या कार्ड जारी र प्रयोग गर्न पाउने सुविधा छ ।
एपबाट नै कार्ड जारी गरेर आफ्नो स्थानसम्म निशुल्क डेलिभरीको सुविधा पनि लिन सकिन्छ ।
कतारमा यहि नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने विश्वकपको खेल हेर्न स्थानीय तथा विदेशी दर्शकलाई हय्या कार्ड अनिवार्य चाहिन्छ । कार्डले कतार प्रवेशका लागि नोभेम्बर १ देखि डिसेम्बर २३ सम्म मल्टिपल ईन्ट्री भिसाको काम समेत गर्नेछ । त्यस्तै कार्डले निशुल्क सार्वजनिक सवारी प्रयोग गर्न पनि सुविधा दिनेछ ।