हाम्रो आगमनले नेपाली खेलाडीलाई फाइदा हुन्छः शिखर धवन
काठमाडौं,मंसिर १४-
शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न शुक्रबार साँझ काठमाडौं आइपुगेका शिखर धवनले विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीलाई फाइदा पुग्ने बताएका छन् । कर्णाली याक्समा आबद्ध धवनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाँझ विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीलाई फाइदा पुग्ने बताएका हुन् ।
‘एनपीएल खेल्न विदेशी खेलाडीहरू आएका छन्। उनीहरूले आफ्नो एक्सपेरियन्स यहाँ सेयर गर्नेछन्, यसले नेपाली खेलाडीलाई पनि फाइदा पुग्छ’ धवनले भने, ‘हाम्रो एक्सपेरियन्सले यहाँको क्रिकेट र स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा खेल्न सहयोग पुग्नेछ ।’ आफू पहिलोपटक नेपाल आएको बताएका उनले नेपालमा रहँदा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने र भ्याएसम्म हिमालको मज्जा लिने पनि जनाएका छन् ।
उनले आइपीएल खेलेका सन्दीप लामिछानेबारे थाहा भए पनि अन्य खेलाडीको बारेमा त्यति जानकार नभएको बताएका छन् । नेपालमा क्रिकेटको लोकप्रियता धेरै रहेको बताउँदै उनले भने ‘खेलको टिकेट नै ‘सोल्ड आउट’ भएको थाहा पाएँ, यसले नेपालको क्रिकेट कति लोकप्रिय छ भन्ने थाहा हुन्छ ।’ उनले कर्णाली याक्सबाट मैदानमा उत्रिन उत्साहित रहेको समेत बताए।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।