एजुकेशन सिटी रंगशालाको उद्घाटन स्थगित
डिसेम्बर १८ मा हुने भनिएको एजुकेशन सिटी रंगशालाको उद्घाटन स्थगित भएको छ । सोही दिन कतारको राष्ट्रिय दिवसको अवसर पारेर रंगशालाको उद्घाटन गर्ने तय भएपनी सर्टिफिकेट प्रमाणिकरनमा ढिलाई भएपछी स्थगित भएको हो । रंगशालामा खेल खेलाउन योग्य गरि निर्माणको काम भने सकिसकेको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले जनाएको छ । रंगशालाको उद्घाटन अर्को वर्षको सुरुको महिनामा हुने भनिएको छ ।
यस संगै जारी क्लब विश्वकप प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल खलिफा रंगशालामा सारिएको छ । खेल हेर्न टिकट काटिसकेका दर्शकलाई भने कुनै असर नपर्ने फिफाले बताएको छ ।
जम्मा ४० हजार दर्शक सीट क्षमता भएको यस रंगशालालाई ‘ डायमन्ड इन द डेजर्ट ‘ भनेर उपनाम दिईएको छ । सन् २०१७ मा उद्घाटन भएको खलिफा अन्तर्राष्ट्रिय रंगशाला र यो वर्षको सुरुवातमा उद्घाटन भएको अल जनौब रंगशाला पछि कतार विश्वकप २०२२ प्रतियोगिताका लागि उद्घाटन हुने यो तेस्रो रंगशाला रहेको छ ।
अल रेयानको मुटु एजुजेशन सिटीमा अवस्थित यस रंगशालामा २०२२ विश्वकपको क्वार्टरफाइनल सम्मका खेलहरु संचालन हुनेछ । ठूलो मात्रामा इस्लामिक कला बोकेको रंगशालाको बाहिरी भाग त्रिकोनात्मक हिरा आकारमा निर्माण गरिएको छ । विश्वकप पश्चात रंगशालाको आधा सीट फुटबल प्रेमी अन्य देशलाई हस्तान्तरण गरिनेछ ।