कतारमा पनि ट्रेडिङमा प्रकाश सपूतको ‘बोल माया’
विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले निकै चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नेपालमा नम्बर १ मा छ भने कतारमा यो समाचार तयार पार्दा ३ नम्बरमा । सार्वजनिक भएको छ दिनमै उक्त गीत १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ ।
सामाजिक विषयवस्तु, मौलिक रचना र प्रस्तुतीकरणका कारण उक्त गीतलाई सर्वाधिक रुचाइएको छ । नेपालमा मात्र नभएर कतार ,दुबई र मलेशियामा पनि उक्त गीत युट्युब ट्रेन्डिङ को धेरै अगाडि आएको छ । गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ । “गीतमा हाम्रै समाजको विषयवस्तु चित्रण गरिएको छ”, सर्जक सपूतले भन्नुभयो, “छोटो समयमै धेरैले मन पराउनुभएको छ, प्रतिक्रिया राम्रो आएको छ ।”
विषयवस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिन सके सफल होइने पाठ आफूले सिकेको सपूतको भनाइ छ । सपूत आफैँ निर्माता रहेको गीतमा रचना, संगीत, स्वर, अभिनय र छायाङ्कन निर्देशनसमेत उहाँकै छ । गीतमा मूल स्वर भने लोकगायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको छ । गीतको अन्तिम खण्डमा मात्र सपूतको स्वर सुन्न पाइन्छ । गीत रचना, संगीत र स्वरसँगै म्युजिक भिडियो निर्माणले पनि गीतलाई न्याय गरेको छ ।