कतारमा हुने विश्वकप फुटबलको सुरक्षा नेपालीले गर्ने
कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले आज नेपालका गृहमन्त्री रामबहादुर थापासँग भेटी सुरक्षा गार्डका रुपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको र यसका लागि छुट्टै सम्झौता गर्न समेत कतार सरकार तयार रहेको बताएका छन् ।
जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका छन् । गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि भेटवार्तामा आग्रह गरेका थिए ।
राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध ४० वर्ष पुगेको सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि निम्ता समेत गरेका छन् ।