कामदारको उजुरी हेर्ने नयाँ समितिले काम सुरु गर्यो
प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालय अन्तर्गत कामदारको उजुरी सुल्झाउन गठित ‘श्रम विवाद समाधान’ समितिले काम सुरु गर्न थालेको छ।सन् २०१७ को कानुन नम्बर १३ लाई कार्यान्वयनमा ल्याउँदै समितिले हिजो मार्च १८ देखि काम सुरू गरेको हो।यसअघि मुद्दा अदालतले हेर्ने गर्दा कामदारले महिनै पिच्छे तारेख धाउन पर्ने र बर्षौ सम्म पनि मुद्दाको सुनुवाई नहुने समस्या रहेको थियो।
मन्त्रालयको श्रम समन्वय विभाग बाट सामान्यतया सात दिन भित्र उजुरी नसुल्झिए सर्वोच्च न्यायालय काउन्सिलको निर्देशनमा तीन समितिको प्रमुख र मन्त्रालयको दुई कर्मचारी मिलेर काम हुने आजको गल्फ टाइम्स पत्रिका ले लेखेको छ।
हिजो कतार न्यूज एजेन्सी सँग बोल्दै मन्त्रालयको श्रम मामिला विभगका प्रमुख फद जाफिर अल दोसारीले समितिको काम एक सचिवालयको समन्वयमा हुने र समितिको लक्ष्य नै कामदारको उजुरी छिटो भन्दा छिटो हल गर्ने बताएका छन्।
“यसैगरी तलब लगायत अन्य पारिश्रमिक भुक्तानी नभएका कामदारको लागि समितिको निर्णयको आधारमा पैसा दिन मन्त्रालयले “श्रमिक सहायता कोष” स्थापना गर्ने तयारी पनि गरिरहेको छ।त्यस्तो रकम सरकारले कानुनी प्रक्रिया मार्फत कम्पनी बाट असुल्नेछ”,अल दोसारीले बताए।
अब विभागले सुरुमा उजुरी हेरी एक हप्ता भित्र फैसला गर्नेछ।सो अवधिमा उजुरीको सुनुवाई हुन नसकेको खण्डमा त्यो समितिमा पुग्नेछ।समितिले उजुरीको विवरण हेरी विभागको सिफारिसमा काम गर्नेछ।यद्यपि उजुरीको फैसला दुवै पक्षलाई चित्त नबुझे एक महिना भित्र सुनुवाई हुने गरी त्यो पुनर्विचार न्यायलयले जिम्मा लिनेछ।विभागले यसअघि तलब नपाएको,उपदान(इन्ड अफ सर्भिस) नपाएका, कम्पनीले घर फर्किने टिकट नदिएको र लिभ स्यालरी नदिएको उजुरी समेत हेर्दै आइरहेको छ।
कहाँ उजुरी गर्ने ?
मन्त्रालयको अनुसार अब श्रमिकले हरेक प्रकारको उजुरी निम्न कार्यालयमा गएर पेश गर्नुपर्नेछ :
- दफ्ना स्थित अलहुदा टावरको पहिलो तल्लामा रहेको श्रम उजुरी विभाग
- औद्योगिक क्षेत्रमा रहेको मन्त्रालयको कार्यालय
- अलखोरमा रहेको मन्त्रालयको कार्यालय
- निजी क्षेत्रमा काम गर्ने कतारी नागरिकको लागि दफ्ना स्थित अल फैसल टावर को २९ औं तल्लामा रहेको मन्त्रालयको कार्यालय