के अब विदेश आउँदा श्रम स्वीकृति लिन नपर्ने हो ? (पूरा जानकारी )
गएको हप्ता वैदेशिक रोजगारीमा गएका नेपालीको श्रम व्यवस्थापन सजिलो बनाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर दुई वर्षे श्रम स्वीकृति खारेज भएको निर्णय गर्यो । त्यसयता विदेशमा रहेका धेरैजसो नेपाली श्रमिकलाई यस विषयमा अन्योल भएको छ ।
कसैले अब श्रम स्वीकृति नै लिन नपर्ने,एकैपटक पाँच वर्षको स्वीकृति लिन पर्ने होकि जस्ता प्रश्नले यतिखेर हाम्रो इनबक्स भरिएको छ । त्यसैले आज हामीले यस विषयमा सबैले बुझ्ने गरि यो जानकारी तयार पारेका छौ ।
१. के अब विदेश आउँदा श्रम स्वीकृति लिन नपर्ने हो ?
होइन, श्रम,रोजगार तथा सामाजिक मन्त्रालयको पछिल्लो निर्णय अनुसार वैदेशिक रोजगारीमा विदेश आउँदा अझै पनि अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्नेछ । पहिलोपटक विदेश आउने र बिदामा नेपाल गै फर्कने जोकोहीले पनि श्रम स्वीकृति वा पुनः श्रम लिनुपर्नेछ ।
२. अनि दुई वर्षे श्रम स्वीकृति खारेज गरेको भनेको होइन ?
सरकारले दिदै आएको दुई वर्षको श्रम स्वीकृति खारेज भएको हो । तर यसको मतलब श्रम स्वीकृति नै गर्न नपर्ने भनेको होइन । सरकारले यसअघि वैदेशिक रोजगारीमा जानेलाई दुई वर्षको मात्र स्वीकृति दिने गरेको थियो । अब नयाँ नियममा कामदार र कम्पनी (रोजगारदाता) बिच भएको श्रम सम्झौतामा तोकेको अवधि वा गन्तव्य मुलुकले तोकेको अवधि अनुसार श्रम स्वीकृति लिन पाइन्छ । जस्तै तपाईंको भिसाको करार अवधि १ वर्षको छ भने १ वर्षकै श्रम स्वीकृति वा ५ वर्षको करार अवधि छ भने सोहि अनुसारको स्वीकृति पाइनेछ ।
दुई वर्षमा एकपटक बिदा आउने कामदारलाई यो नियमले केही असर गर्दैन । बरु मलेसिया वा अन्य युरोपेली देश जस्तो एकैपटक तीन वर्ष वा सो भन्दा बढी समयमा मात्र बिदामा आउन पाउने कामदारलाई यो नियमले फाईदा दिएको छ ।
३. दूतावास बाटै श्रम स्वीकृति लिन पाइन्छ ?
हो, अब नयाँ नियम अनुसार आफूले काम गरेको देशमा रहेको नेपाली दूतावास गएर श्रम स्वीकृति लिन सकिन्छ । हालसम्म दूतावास बाट कुनै आधिकारिक जानकारी नआएको हुनाले श्रम स्वीकृति लिन लाग्ने शुल्क र प्रक्रिया बारे थप जानकारी आउन बाँकि रहेको छ ।
४. नयाँ नियमले फाइदा चाहिँ के भयो ?
मन्त्रालयको नयाँ नियमले भरपुर भन्दा केही हदसम्म फाईदा भने भएको देखिन्छ । अब आफुले चाहे अनुसार दूतावास बाटै श्रम स्वीकृति लिन पाइने सुविधा नयाँ नियमको प्रमुख फाइदा हो । श्रम स्वीकृतिको म्याद हुँदा कामदारको दुर्घटना भै अङ्गभङ्ग वा मृत्यु भएको अवस्थामा क्षतिपूर्ति मार्फत पाइने १७ लाख बराबरको(अवस्था हेरेर) रकम दाबी गर्न पाइनेछ ।
तर सरकारले भनेजस्तो नयाँ नियमले श्रम स्वीकृति लिनकै लागि नेपाल आउनुपर्ने बाध्यता हट्ने भन्ने कुरा हास्यास्पद छ । श्रम स्वीकृति लिनकै लागि विशेष अवस्था बाहेक आज सम्म कोहिपनि सायदै नेपाल आएको तथ्यांक छैन । श्रम स्वीकृतिको म्याद सकेर पनि विदेशमै बस्ने प्रायले अनलाइन मार्फत स्वीकृति लिने गरेका छन् भने कोहि एकैपटक नेपाल आएर फर्कदा स्वीकृति लिन्छन् ।
मन्त्रालयको प्रेस विज्ञप्ति :