चितवनमा क्रिकेट रगंशाला बनाउन मातृभूमी कपको भब्य तयारी, कलाकारहरु जुटे अभ्यासमा
चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ विभिन्न कार्यक्रमहरु हुँदैछन् । यस्तैमा क्रिकेट रगंशाला भएको हिसाबले क्रिकेट प्रतियोगिता गरेरै सहयोग संकलन अभियान थालिएको छ । जसका लागि यही चैत २३ गते शनिबार मातृभूमी कप क्रिकेट खेल हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा हुने खेलबाट उठेको रकमको १५ प्रतिशत आँधी प्रभावित क्षेत्रमा खर्च गर्ने र बाँकी रगंशाला निर्माणका लागि खर्च गरिने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले सामाजिक संजाल फेसबुकममा एक स्ट्याटस पोष्ट गर्दै बारा र पर्सामा राहत बाँडेको र निरन्तर अभियान चलिरहने जानकारी गराए ।
यता धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा बनाउने रङ्गशालाको सहयोगार्थ आयोजना हुने मातृभूमी कपको भब्य तयारी भईरहेको छ ।कलाकारहरुको टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिईरहेका छन् । कलाकारहरुको तर्फबाट भने पूर्व खेलाडी समेत रहेका कमल मैनाली र सुनिल थापाले पनि प्रशिक्षण दिईरहेका छन् ।
अहिले अभ्यास खेलमा सुनिल थापा, बद्रि पंगेनी, कुमार कट्टेल, सन्दीप क्षेत्री, राजु ढकाल, घनश्याम गौतम, सन्तोष लामा, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, हेमन्त शर्मा, हेमन्त राना, सुरज सिंह ठकुरी, राजा राजेन्द्र पोखरेल, अर्जुन घिमिरे ‘पाँडे’, निर्मल शर्मा, अनुराग कुँवर, कृष्ण काफ्ले र सलिनमान बनिया दैनिक उपस्थित भईरहेका छन् ।