चितवन राइनोजबाट खेल्ने पाकिस्तानी तिव्र गतिका बलर सोहिल तानबीर काठमाडौं उत्रिए
चितवन,मंसिर १५-
त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)का लागि फ्रेन्चाइज चितवन राइनोजबाट खेल्नका लागि पाकिस्तानका तिब्र गतिका बलर सोहिल तानबीर काठमाडौं आइपुगेका छन्। योसँगै अब नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपील झनै रोचक हुने निश्चित छ।
चितवन राइनोजले पाकिस्तानी क्रिकेटर सोहिल तानबीरलाई अनुबन्ध गरेको हो। टोलीका अध्यक्ष आयुष न्यौपानेले विज्ञप्ति जारी गर्दै बायाँ हाते पेस बलर तानबीरलाई अनुबन्ध गरेको जानकारी दिएका थिए। उनी शनिबार काठमाडौं आइपुगेका हुन्।
‘एनपीएलको पहिलो सिजनका लागि पाकिस्तानी क्रिकेटमा लामो समय खेलिसकेका अनुभवी खेलाडी सोहेल तानबीरलाई अनुबन्ध गरेको घोषणा गर्न पाउँदा चितवन राइनोजको टिम निकै उत्साहित छ,’ न्यौपानेले भनेका छन्,‘बायाँ हाते पेस बलिङ गर्ने तानबीरको भिन्न किसिमको शैलीले उनलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ।’
तानबीर राजस्थान रोयल्सको तर्फबाट खेलेर इन्डियन प्रिमियर लिग (आईपीएल) जितिसकेका खेलाडी हुन्। उनी पाकिस्तान सुपर लिग विजेतासमेत हुन्।
तानबीरको सबैभन्दा ठूलो उपलब्धि पाकिस्तान टिमबाट सन् २००९ को टी–२० विश्वकप जित्नु पनि हो। तानबीरले भनेका छन्,‘मैले यसलाई एक चूनौतीका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ । मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यान छन्।’
यस समाचारको श्रोत : www.narayanionline.com हो ।