जुलाई ७ देखि कतारमा ‘चिसो मान्छे’ प्रदर्शन हुने
दिपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘चिसो मान्छे’ जुलाई ७ देखि कतारको प्राय सबैजसो हलमा प्रदर्शन हुने भएको छ ।
कतारमा फिल्मको सेन्सर पास भै अब रिलिजका लागि तयारी अवस्थामा रहेको आयोजक पक्षले क्युएन खबरलाई जानकारी गराएको छ । नेपालमा राम्रो समिक्षा पाएको फिल्मले इदको बिदामा कतारमा राम्रै दर्शक तान्नेमा आयोजक ढुक्क छ ।
कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्मले चित्रण गरेको छ ।
फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ । कोरोना संक्रमणको त्रास, पूर्व माओवादी लडाकु वैदेशिक रोजगारीमा पुगेपछि हृदयघातले हुने मृत्यु र शवलाई घरसम्म लैजान भएको सास्तीलाई फिल्मले चित्रण गर्छ ।
सुदूरपश्चिममा हुने बालविवाह र लकडाउनले आम मानिसमा पारेको आर्थिक असरका आयामलार्ई पनि फिल्ममा चित्रण गरिएको छ । पशुपति प्रसाद, आमाजस्ता रुचाइएका फिल्मलाई निर्देशन गरेका खनालको यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ ।
यसअघि कतारमा ‘कबड्डी ४’ ले सफल व्यापार गरेको थियो । कतारमा यसले २५ शो हाउसफुल पाउनुका साथै दोस्रो हप्तामा समेत प्रदर्शन गरेर रेकर्ड राखेको थियो ।