बिज्ञापन

दूतावासको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

नेपाली राजदूतावास दोहाले गत शुक्रबारका  दूतावास भवनमा श्रमिक  सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना सम्पन्न गरेको छ । कतारको फेसिलिटी म्यानेजमेन्ट एन्ड मेन्टेनेन्स तथा वुड ल्यान्ड ट्रेडिङ एन्ड कन्ट्याक्ट्टिङ कम्पनीमा कार्यरत नेपालीहरूकाे उपस्थिति रहेको उक्त कार्यक्रममा कतारमा वैदेशिक रोजगारीका सिलसिलामा गर्न हुने र गर्न नहुने कामहरु, कतारको कानून र राजदूतावासले दिने श्रमसँग जोडिएर आउने सेवा र सुविधा तथा राहदानी तथा कन्सुलर सेवाका बारेमा विस्तृत जानकारी गराईएको थियो ।

कार्यक्रममा कतारका लागि नेपाली राजदूत नारद नाथ भारद्वाजले उपस्थित सबैलाई श्रमिकका हक हितका लागि राजदूतावासले चालेका पहलकदमीहरुको बारेमा जानकारी गराउनु भएको थियो । कतार सरकारका उच्च अधिकारीहरुसँगको भेटमा उहाँहरूले नेपाली नागरिकहरू प्रंशसा र कदरका पात्र रहनु भएको र कतारको निर्माण र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको व्यहोरा सबैलाई जानकारी गराउनु भएको थियो ।  वैदेशिक रोजगारीमा रहनु भएका नेपालीहरूले रगत र पसिना बगाएर पठाउनु भएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै वैधानिक तवरले नेपालमा पैसा पठाउनका लागि आग्रह समेत गर्नुभयो। साथै विदाको दिनमा समेत राजदूतावासको निमन्त्रणालाई स्वीकार गरी सहभागी हुनु भएकोमा उपस्थित सबैलाई तथा उहाँहरुले काम गर्ने सम्बन्धित कम्पनीका अधिकारीहरुलाई समेत वहाँले धन्यवाद दिनुभयो ।

कार्यक्रममा श्रम सम्बन्धि विषयहरू तथा कतारमा नेपाली कामदारले भोग्नु परेका विभिन्न प्रकारका समस्याहरु र त्यस प्रकारका समस्या आउन नदिने सचेतनाका उपायहरुका बारेमा श्रम काउन्सेलर शिवराम पोखरेल र श्रम सहचारी नरेन्द्रराज ज्ञवाली , राहदानी ट्राभल डकुमेन्ट तथा व्यक्तिगत माग प्रमाणिकरण बारेमा द्वितीय सचिव ऋचा भट्टराई तथा विभिन्न् प्रकारका कन्सुलर सम्बन्धी विषयमा द्वितीय सचिव भुवन प्रसाद भट्टले जानकारी दिनु  भएको थियाे । यसैगरी कार्यक्रममा उपनियोग प्रमुख श्री लक्ष्मण खनालले स्वागत मन्तव्य राख्नु भएको थियो भने द्वितीय सचिव प्रवीण भट्टराईले कार्यक्रम संचालन गर्नु भएको थियो ।

उक्त अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित सहभागीहरूको सक्रिय सहभागिता रहेको र सहभागीहरु मध्येबाट कार्यक्रमको उपादेयताको बारेमा जुनु मगर र ओम राज भण्डारीले बोल्नु भएको थियो ।

कतारमा बैदेशिक रोजगारीको सिलसिलामा रहनु भएका नेपाली नागरिकहरुले कतारको विद्यमान कानून, धर्म, परम्परा र संस्कृति तथा रोजगारदाता कम्पनीसँग भएको करारनामाका प्रावधानहरुको बारेमा आवश्यक जानकारी उपलव्ध गराउन तथा कुनै कारणवश केही समस्या आएमा के कसरी समाधान गर्ने भनेर नेपाली राजदूतावास, दोहाले समय समयमा सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएको छ । यस प्रकारका कार्यक्रमको मूल उदेश्य नेपाली नागरिकहरुको कतार बसाई सहज र सुरक्षित बनाउन चाल्नु पर्ने आवश्यक कदमहरुको बारेमा जानकारी गराउनु रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button