नेपालमा लगानी गर्न सकारात्मक छन् कतारी लगानीकर्ता
कतारका लगानीकर्ताहरू नेपालमा लगानी गर्न सकारात्मक देखिएका छन् । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र कतार फाइनान्सियल सेन्टर (क्यूएफसी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) युसुफ मोहम्मद अल जाइदासँग भएको द्विपक्षीय भेटमा कतारी लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक भएका हुन् ।
नेपाल सरकारले आगामी अप्रिल २८ र २९ तारिख काठमाडौंमा हुन लागेको तेस्रो नेपाल लगानी सम्मेलनमा कतारको लगानी कर्ता बढाउन राजदूत ढकालले क्यूएफसीका सीईओसमक्ष आग्रह गरेका थिए ।
क्यूएफसीका सीईओ जाइदाले कतारका ठूला लगानीकर्ताहरूसँग यसबारे छलफल गरिने बताए । ‘नेपालको विकासमा हामी सहयोगी हुन चाहन्छौं । हामी हाम्रा लगानीकर्ताहरूसँग यसवारे छलफल गर्नेछौं,’ उनले भने ।
कतारी लगानीकर्ताहरूसँग छलफल गर्न नेपाल बिजनेस एशोसिएसन, कतारले एउटा कार्यक्रम गर्ने भएको छ । त्यसमा कतारी लगानीकर्ताहरूको उपस्थिति हुने क्यूएफसीले जनाएको छ । यसको लागि तयारी अगाडि बढाइएको राजदूत ढकालले बताए ।
यो भेटमा नेपाली दूतावासका उपप्रमुख कुमार राई, नेपाल बिजेनस एसोसियसनका अध्यक्ष महेन्द्र चौलागाईं, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, सल्लाहकार नरेन्द्र भाट, व्यवसायी सुनिल घिमिरेलगायतको सहभागिता रहेको थियो ।
यो समाचार हामीले कान्तिपुर बाट लिएका हौं ।