नोभेम्बरबाट हय्या कार्ड भएका पर्यटकले मात्र कतार प्रवेश गर्न पाउने
कतारले फिफा विश्वकपको समयमा पर्यटकको संख्या सिमित गर्ने भएको छ ।
नोभेम्बर महिनाबाट प्रतियोगिताको अवधिभर लागू हुनेगरि हय्या कार्ड भएका पर्यटकलाई मात्र कतार प्रवेश गर्न दिइने हय्या प्लेटफर्मका कार्यकारी निर्देशक साईद अल कुवेरीले बताएका छन् ।
कतारी नागरिक र आईडी भएका आप्रवासीलाई यो नियमबाट कुनै प्रभाव नपर्ने उनले बताएका छन् । त्यस्ता नागरिकले प्रतियोगिताभर जुनसुकै समयमा आवतजावत गर्न पाउनेछन् ।
भिसाकै रुपमा रहेको हय्या कार्ड बनाउन विश्वकपको टिकट हुन अनिवार्य छ । सो कार्ड भएका व्यक्तिले विश्वकपको बेला सार्वजनिक सवारी चढ्न पाउने व्यवस्था गरिएको छ ।
विश्वकपको विषय सम्बन्धित जिज्ञासा र समस्या परेमा कतारभित्र बाट सम्पर्क गर्न सकिने हटलाईन नम्बर ‘२०२२’ पनि सुरु भएको छ । हाल अरबी र अङ्ग्रेजी भाषामा उपलब्ध सेवा अन्य भाषा पनि विस्तार गरिने आयोजकले समितिले बताएको छ ।