पारस खड्काको टिमले जित्यो लिजेन्ड्स लिग क्रिकेटको उपाधि
नेपाली क्रिकेटको पूर्वकप्तान पारस खड्काको टिम एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेटको उपाधि जितेको छ ।
एसियन टाउनस्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा हिजो राति भएको फाइनलमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
पारसले फाइनलमा प्लेइङ ११ मा स्थान बनाए पनि ब्याटिङ र बलिङमा भने अवसर पाएनन् । लिगभर दुई खेलमा ब्याटिङ गरे पनि पारसले बलिङ भने गरेनन् ।
वर्ल्ड जायन्ट्सले दिएको १४८ रनको लक्ष्य एसिया लायन्सले १६.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
एसियाको जितमा ओपनरद्वय तिलकरत्ने दिल्शान र उपुल थरंगाले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरे । दिल्शानले ४२ बलमा ८ चौका मदतमा ५८ रन बनाए । थरंगाले २८ बल खेल्दै ५ चौका तीन छक्का प्रहार गरी ५७ रन बनाए । मिस्बा उल हक र मोहम्मद हाफिज समान ९ रनमा अविजित रहे ।
जायन्ट्सका लागि मोन्टी पानेसर, समित पटेल र ब्रेट लीले समान एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा चार विकेट गुमाएर १४७ रन बनाएको थियो ।
जायन्ट्सका लागि ज्याक कालिसले अविजित ७८ रन बनाए । ५४ बल खेलेका कालिसले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । रोस टेलरले ३२ र लेन्डल सिमोन्सले १७ रन बनाए ।
लायन्सका अब्दुर रज्जाकले २ तथा थिसारा परेराले एक विकेट लिए ।