प्रेमगीतको ‘मोटरसाइकलमा’ सार्बजनिक (भिडियो)
‘प्रेमगीत २’ को नयाँ नयाँ गीत ‘मोटरसाइकलमा…’ रिलिज गरिएको छ । उक्त गीतमा स्कटिस संगीतको स्वादसँग संगीतकार एलिस कार्कीले नेपालीपन मिश्रण गरेका छन् ।
पाश्र्वध्वनीमा ख्याती कमाइसकेका कार्कीको यो डेब्यु संगीत कम्पोज हो । उनले यस फिल्ममै अर्को गीत पनि कम्पोज गरेका छन् । क्लब सङ जानरामा बुनिएको यो गीतमा स्वस्तिमा खड्काको फिचरिङ छ । प्रदीप खड्का र अश्लेषा ठकुरी गीतमा चित्रित छन् । राजेशकुमार श्रेष्ठ र बबिनका शब्द,प्रताप दास र इन्दिरा जोशीको स्वर एवं रिनशा राईको नृत्य निर्देशनमा गीत कर्णप्रिय र दर्शनीय बनेको छ । कस्ट्युमदेखि प्रप्समा स्कटिस आञ्चलिकता महसुस गर्न सकिन्छ । स्कटिस झण्डा समेत पृष्ठभूमिमा फर्फराएको छ । ‘यो क्लब गीत हो र स्कटिस फ्लेवरमा कम्पोज गरिएको छ’ संगीतकार कार्कीले भने, ‘नेपालमा नयाँ प्रयोग गरिएको हो । दर्शकले रुचाउन सक्नुहुनेछ ।’
कोरियोग्राफर रिनशा राईले दृश्यलाई जीवन्त तुल्याउन प्रप्स, कस्ट्युम र स्टेपमा सम्झौता नगरिएको बताइन् । युबी थापाद्धारा डिजाइन गरिएका कस्ट्युम सुन्दर लाग्छन् । निर्माता सन्तोष सेनले दर्शकले मोटरसाइकल गीतलाई रुचाउने विश्वास व्यक्त गरे । ओम गुरुङ सहनिर्माता हुन् । आशुसेन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।
म्यानमार र बर्मेली पात्रबीचको प्रेमकथा बुनिएको सिनेमा साउन १३ गते प्रेमगीत २ नेपाल र जुलाई २८ मा कतारमा पनि रिलिज हुँदैछ ।