बार्सिलोनालाई जित्नैपर्ने दबाब
स्पेनिस लिगको साबिक विजेता बार्सिलोनासमक्ष उपाधि रक्षा गर्ने अभियान जीवित राख्न आइतबार बहुचर्चित ‘एल क्लासियो’मा रियल म्याड्रिडलाई हराउनैपर्ने दबाब छ । बार्सिलोनाले रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बर्नावेउमा प्रतिस्पर्धा गर्दै छ । यसअघि सिजनकै पहिलो एल क्लासियोमा दुवै टोलीले १–१ को बराबरी नतिजा निकालेका थिए । लिगको शीर्ष स्थानमा रहेको रियलले बार्सिलोनासँग ३ अंकको दूरी राखेको छ । बार्सिलोनाभन्दा रियलले एक खेल कम खेलेको छ ।
संघर्षरत बार्सिलोना
केही समययता बार्सिलोनाले स्पेनिस लिग र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोना क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । इटालियन क्लब युभेन्टसविरुद्ध दोस्रो क्वार्टरफाइनल लेगमा बार्सिलोना गोल फर्काउन नसक्दा अन्तिम आठबाटै बाहिरिन बाध्य भयो ।
गत साता स्पेनिस लिगमा रियल सोसिडाडविरुद्ध खेलमा बार्सिलोनाले ३–२ ले जित निकाले पनि धेरै मिहिनेत गर्नुपरेको थियो । प्रशिक्षक लुइस एन्रिकलाई फिनिसिङ र डिफेन्स राम्ररी चल्न नसक्दा चिन्ताले सताएको छ । विपक्षीहरू सहजै बार्सिलोनाको डिफेन्स चिर्न सफल भइरहेका छन् । महत्वपूर्ण खेलमा बार्सिलोनाले नेमारलाई गुमाउने भएको छ । रेफ्रीविरुद्ध अभद्र व्यवहार गरेकाले प्रतिबन्धमा रहेका नेमार रियलविरुद्ध अनुपस्थित रहनेछन् । बार्सिलोनाले नेमारको प्रतिबन्ध फुकुवा गर्न स्पेनिस फुटबल संघमा अपिल गरेको थियो । तर, संघले बार्सिलोनाको अपिलमाथि कुनै कारबाही गरेन ।
बेलको आगमन हुने
रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलअघि राहत महसुस गरेका छन् । टोलीकै मुख्य स्ट्राइकर गेराथ बेल चोटमुक्त भएका छन् । उनले लगातार शुक्रबार र शनिबार अभ्यास गरेका छन् । वेल्सका २७ वर्षीय स्ट्राइकर बेलले प्रतिस्पर्धा गर्ने प्रशिक्षक जिदानले जनाए । बेल आउँदा अर्का मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई सहज हुनेछ । रोनाल्डोले एल क्लासियो खेल प्रतीक्षा गरेको बताए । ‘मानसिक, शारीरिक तथा उत्साहजनक रूपमा एल क्लासियो खेल्न तयार छु,’ रोनाल्डोले भने, ‘म मात्र होइन, टोलीका अन्य खेलाडी पनि मैदानमा उत्रन तयारी अवस्थामा छन् ।’
तथ्यांकमा
रियल म्याड्रिडको जित ७२
बार्सिलोनाको जित ६८
रियल म्याड्रिडको गोल २८२
बार्सिलोनाको गोल २७४
कुल खेल १७३
स्टार खेलाडीको भिडन्त
एल क्लासियोको विशेषता नै स्टार खेलाडीबीच आपसी भिडन्त हुनेछ । रियल र बार्सिलोनाका खेलाडीहरू एल क्लासियो खेल हार्न चाहँदैनन् । यसकारण दुवै टोलीका खेलाडीहरू आ–आफ्नो क्लबलाई जित दिलाउन अन्य खेलका तुलनामा शतप्रतिशत मैदानमा मिहिनेत गर्छन् । मुख्यतः सबैको ध्यान रोनाल्डो र लियोनल मेसीबीच नै हुनेछ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा समग्रमा पाँच गोल गर्दै रोनाल्डो फर्ममा छन् । मेसीले च्याम्पियन्स लिगमा युभेन्टसविरुद्ध गोलका लागि धेरै संघर्ष गरेका थिए । एल क्लासियोमा मेसीले २१ गोल तथा रोनाल्डोले १६ गोल गरेका छन् ।