भ्याट सिस्टम तत्काल लागू नहुने
आउने वर्ष कतारले विश्वकप आयोजना सहित देशको अन्य पुर्वाधार विकास गर्न २०१९ को भन्दा १.९ प्रतिशत बढी खर्च गर्ने भएको छ । अमिर शेख तमिम बिन हमाद अल थानीले गएको सोमबार २०२० का लागि २१०.५ बिलियन रियाल अर्थात ५८ बिलियन डलरको बजेट निर्धारण गर्नुभएको छ । यो पाँच वर्ष यताकै धेरै रहेको छ ।
ग्यास निर्यातमा विश्वकै ठुलो मानिने कतारले अर्को वर्ष मुख्य परियोजनामा ९० बिलियन रियाल खर्च गर्नेछ । यो पुरानो बजेटहरुको भन्दा ०.६ प्रतिशतले बढी हो । त्यस्तै नयाँ योजनाको लागि ११.५ बिलियन रियाल हस्तान्तरण गरिएको छ ।
सरकारी क्षेत्रमा तलब तथा भत्ता ३.३ प्रतिशतले वृद्धि गर्दै ५९ बिलियन रियाल खर्च गरिनेछ ।
अर्को वर्ष तेल प्रती ब्यारेल २०० रियालको आधारमा राजश्व यथावत स्थानमा २११ बिलियन रियाल रहनेछ ।
मुख्य परियोजना
मुख्य परियोजनाअन्तर्गत फिफा विश्वकप सन्चालनमा जोडिएका योजना,हाईवे निर्माण सम्पन्न गर्ने,विद्युतिय नेटवर्क तथा खानेपानीको विस्तार संगै शार्क क्रसिङ प्रोजेक्ट लगायत रहेको छ । यो रस अबु अबौद देखि वेस्ट बे एरिया सम्म रहनेछ । यसलाई चार वर्ष भित्र सकाउने लक्ष्यका साथ निर्माण कार्य अगाडि बढाईनेछ ।
छिमेकी राष्ट्र साउदी अरब,युएई र बहराइनले पछिल्लो दुई वर्ष यतादेखि लगाउँदै आएको जस्तै ५ प्रतिशत मूल्य अभिवृद्धि कर कतारले तत्काल लगाउने बजेटमा उल्लेख गरिएको छैन । गत वर्ष पनि तयारीका लागी केही समय अझै चाहिने भन्दै कतारले भ्याट सिस्टम लागू गरेको थिएन ।