मुन्ताजा पार्क खुल्ने
सार्वजनिक कार्य विभाग अस्घालले अर्को पार्क खुल्ने तयारी गरेको छ ।
पुनर्विकासका लागि सन् २०१९ देखि बन्द गरिएको एक लाख चालीस हजार वर्ग मिटरमा फैलिएको रदत अल खेल पार्कको यतिखेर सबै काम पुरा भएको छ ।
कतारको सबैभन्दा पुरानो मध्येको र नेपाली समुदायको बढी जमघट हुने उक्त पार्कलाई अल मुन्ताजा पार्क भनेर धेरै चिनिन्छ ।
पर्याप्त हरियाली , पसल तथा अन्य धेरै सुविधाहरू सहित सी रिंग रोड र रदत अल खेल स्ट्रीट छेउमा अवस्थित पार्क सर्वसाधारणका लागि छिट्टै खुला हुने स्थानीय अरबी दैनिक अरायाहले लेखेको छ ।
तारबार बिनै पार्कमा १ हजार ३ सय मिटर लम्बाइ पैदल यात्रु र साइकल मार्ग, १ हजार २ सय ५० नयाँ रुख र ४०१ पार्किंग स्थान समावेश गरिएको छ ।
बालबालिका देखि सबै उमेर समुहका लागि उपयुक्त पार्कमा शारिरीक रुपमा अपाङ्गता भएका व्यक्तिहरुका लागि समेत विशेष व्यवस्था गरिएको छ ।
त्यहाँ रोपिएका जंगली घाफ, समर र सिड्र लगायत स्थानीय प्रजातिका रुखहरु हुन् । पार्कमा पहिले देखि नै रहेको पुराना रुख र दुर्लभ प्रजातीका बोट बिरुवालाई पनि जोगाएर राखिएको छ ।
यसअघि अस्घालले विश्वकै पहिलो एयर कन्डिसनयुक्त अल घराफा पार्क खुला गरिसकेको छ । त्यस्तै अर्को एयर कन्डिसनयुक्त नै अल सेनिम पार्कको निर्माणकार्य यसै वर्ष पूरा हुँदैछ ।
One Comment