राजकुमारी शेखाले भिन्सन मासिफ हिमालमा कतारको झण्डा फहराईन
कतारी राजकुमारी शेखा अस्मा बिन्त थानी अल थानीले अन्टार्कटिकाको सर्वोच्च शिखर भिन्सन मासिफमा कतारको झण्डा फहराएकी छन् ।
कतारको महिला इतिहासमा पहिलोपटक शेखा अस्माले दक्षिण ध्रुवमा लगभग ११७ किलोमिटर स्किइङ गरि अन्टार्कटिकाको सबैभन्दा अग्लो ४,८९२ मिटर हिमाल भिन्सन मासिफको आरोहण गरेकी हुन् ।
उनी संगै गएका कर्मा तेन्जिङ उक्त हिमाल आरोहण गर्ने पहिलो नेपाली बनेका छन् ।
“मेरो दाजुभाइ संगै अन्टार्कटिकाको माउन्ट भिन्सनमा पहिलोपटक नेपाली झन्डा फहराउने इतिहासको साक्षी बन्न पाउँदा निकै भाग्यमानी ठानेकी छु,” उनले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखेकी छिन् ।
उनलाई कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पाको एलाइट एक्स्पेडिसनले गाइड गर्दै आएको छ ।
राजकुमारी अल थानीले एक्स्प्लोरर ग्रान्ड स्लाम अर्थात विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्य राखेकी छिन् ।
यसअघि उनले दक्षिण अमेरिकाको माउन्ट एकोनकागुआ(६९६९), अफ्रिकाको माउन्ट किलिमन्जारो(५,८९५) , यूरोपको माउन्ट एल्ब्रस(५,६४२) र नेपालको मनास्लु,आमा दब्लान ,धौलागिरीको सफल आरोहण गरिसकेकी छिन् ।
One Comment