लुसेल रंगशालामा लडेका सुरक्षागार्डको निधन
लुसेल रंगशालामा लडेर घाइते भएका एक सुरक्षागार्डको निधन भएको छ ।
गत शनिबार रंगशालामा खटिएका सुरक्षा गार्ड जोन न्जुआ किब्यु आठौं तल्लाबाट खसेर गम्भीर घाइते भएका थिए। उनलाई एम्बुलेन्स मार्फत हमाद मेडिकल अस्पतालको सघन उपचार कक्षमा सार्नुअघि रंगशालाका मेडिकल टोलीले तत्काल आकस्मिक उपचार गरेको थियो।
गएको नोभेम्बर महिनामा मात्र केन्या बाट विश्वकपको लागि कतार आएका उनी अल स्रैया सेक्युरिटी सेर्भिस कम्पनीमा कार्यरत थिए।
सुप्रिम कमिटी फर डलभरी एन्ड लिगेसीले आज एक विज्ञप्ती जारी गर्दै घटना बारे दुख व्यक्त गरेको छ । “स्वास्थ्यकर्मीको सक्दो प्रयासका बाबजुद किब्युलाई बचाउन सफल भएनौ। तीन दिनको आइसीयु उपचारपछि मंगलबार भएको उनको निधनको समाचार सुनाउन बाध्य भएका छौं”,समितिले लेखेको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको र मृतकले पाउनुपर्ने रकम सुनिश्चित गरिएको समितिले बताएको छ ।