वैदेशिक रोजगारले निम्त्याएको पीडाः विदेशमा गर्भ, स्वदेश फर्कदा घर निकाला
धन कमाउने आसमा जोर्डन पुगेकी झापा विर्तामोडकी ३२ वर्षीया धनमाया बस्नेत अहिले सडकमा छिन्। उनको पेटमा ८ महिनाको बच्चा छ। यो खबर आजको राजधानी दैनिकमा झापाबाट टीकाराम नेतीले लेखेका छन्।
श्रीमान् र परिवारको अनुरोधमा घरेलु कामदारका लागि १९ महिनाअघि जोर्डन पुगेकी धनमाया काम गरेको कम्पनीमा बलात्कृत भइन् । गलैंचा फ्याक्ट्रीमा काम गर्ने धनमाया भारतीय सहकर्मीबाट बलात्कारको सिकार भएकी थिइन् । आफूलाई परेको कारुणिक पीडाबारे खुल्दै उनले थपिन्, ‘एकलासको बाटो थियो । पछाडिबाट एक जनाले अँगालो हाल्यो र लडायो अनि रुमालले मेरो मुख थुनेर बलात्कार गर्यो । उसले मलाई जेजे गर्नु थियो सक्यो अनि छाडेर भाग्यो । वरिपरि कोही थिएनन् र मैले पनि न्याय नपाउने डरमा यो घटना कसैलाई सुनाइन् ।’
घटनाबाट पीडित उनी बाँच्नु न मर्नुको अवस्थामा पुगिन् । ‘मर्न खोजें मर्न सकिनँ, नेपाल आएँ ज्युँदै मरें,’ ९ दिनअघि श्रीमान् र परिवारका सदस्यले घरनिकाला गरेपछि न्यायको खोजीमा भौंतारिएकी धनमायाले गहभरि आँसु पारेर भनिन् । उनलाई कम्पनीका म्यानेजरले गत महिना मात्रै नेपाल डिपोट गरेका थिए ।
कम्पनीबाट काम गरेर फर्किने क्रममा धनमाया भारतीय नागरिकबाट राति ११ बजे बलात्कृत भइन् । आफूमाथि परेको पीडा उनले सहकर्मीलाई सुनाइन् । ‘अर्काको देशमा आएकाले कुनै कारबाही हुँदैन भन्ने साथीहरूले भने । म अत्तालिएँ,’ उनले सुनाइन् ।
बिस्तारै उनको पेट बढ्दै गयो । बलात्कारको निसानी पेटमा बढेको बल्ल थाहा पाइन् । ‘कम्पनीको म्यानेजरलाई सुनाएँ । उसले बलात्कारी र मलाई घर फर्काइदियो,’ उनले भनिन् ।
धनमायाका श्रीमान् किरण पनि वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए । उतैबाट किरणले रोजगारीमा जान दबाब दिएपछि काठमाडौंमा रहेको एसीसी म्यानपावरमार्फत जोर्डन पुगेकी थिइन् । ‘घर चलाउन गाह्रो थियो । पैसा पठाउनु भन्दा तँ नै कमाएर देखा भनेपछि छोराछोरी पढाउन र घर खर्च चलाउन बिदेसिएँ । सपना साकार गर्नेभन्दा पीडाको भारी बोकेर फर्किएकी छु,’ उनले भनिन् । उनका १४ र ९ वर्षीया २ छोरी र ४ वर्षीय १ छोरा छन् । उनले भनिन्, ‘पैसा कमाएर आएको भए प्यारो हुन्थें होला, पीडामा परेर फर्किएँ, अहिले घरबाट निकालिएँ ।’
१९ महिनामा धनमायाले परिवार र नन्दका नाममा कमाएको २ लाख पठाएकी थिइन् । अहिले त्यो पनि उनको हातमा छैन । धनमाया नौ दिनअघि घरनिकाला भएपछि कचलकवल गाउँपालिका पथरियाको माइती घरमा आश्रयमा छिन् । धनमाया न्याय खोज्दै प्रहरी र महिला अधिकारकर्मीसँग पुगेकी छिन् । विदेशमै रहँदा पनि यस्ता उजुरी गर्ने ठाउँ दूतावास र वैदेशिक रोजगार विभाग हो भन्ने उनलाई थाहा थिएन ।
उनले थपिन्, ‘बच्चा फाल्न सकिनँ, घरका छोराछोरी र श्रीमान्को अनुहार झलझली आँखामा आएपछि मर्न पनि सकिनँ ।’ मरेको खण्डमा लास पनि परिवारले नपाउँदा कति पीडा हुन्छ भन्ने उनलाई लागिरह्यो । ‘बरु सबै साँचो भन्छु स्वीकार हुन्छ भन्ने आस थियो, गल्ती गरेछु,’ उनले भक्कानिँदै भनिन् ।
किरणसँग धनमायाँको १५ वर्षअघि मागी विवाह भएको थियो । धनमायाले सकेसम्म आफ्नै परिवारमा बस्ने र सँगै जीवन बिताउने वातावरण तयार गरिदिन आग्रह गरेकी छन् । उनले भनिन्, ‘त्यस्तो सकिँदैन भने जीविकोपार्जन गर्ने व्यवस्था मिलाइदिनुपर्छ ।’