सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको छैनः प्रचण्ड
काठमाडौं,मंसिर १५-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् । शनिबार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उनले सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल नभएको दाबी गरेका हुन् ।
केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष प्रचण्डले हप्ताको दुईरतीनपटक नेपाली कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका थिए । सोही बारेमा सञ्चारकर्मीसँग अध्यक्ष प्रचण्डले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गरेका हुन् ।
२०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरूमार्फत आग्रह गरेको बताए । उनले महामन्त्री थापालाई आफूले युवा नेताको रूपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको बताए । जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको उनको टिप्पणी छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रूपमा कुरा नभएको उनले दाबी गरे । प्रचण्डले महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।