सन्दीपलाई आइपीएलको कुनै पनि टिमले लिएनन्
काठमाडौं, फागुन ६–
सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल हुनुभएको छ । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ हुनुभएको हो ।
आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राख्नुभएको थियो । उहाँलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेल्नुभएको थियो । उहाँ त्यो बेला रु ३२ लाखमा अनुबन्ध हुनुभएको थियो । सन् २०१९ र सन् २०२० मा दिल्लीको टोलीमा रहनुभएका लामिछानेलाई फुकुवा गरेपछि उहाँ यस पटक अक्सनमा सहभागी हुनुभएको हो ।
सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिनुभएको थियो । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिनुभएको थियो । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उहाँलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन ।