साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै
भारतसँग ३-० गोलले पराजित
साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ। साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग पराजित भएपछि नेपालको लक्ष्य पूरा हुन नसकेको हो।
शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको साफको उपाधि भिडन्तमा नेपाललाई ३-० गोलले पराजित गर्दै भारतले आठौं पटक उपाधि जित्यो। भारतले आठौं पटक उपाधि जित्ने क्रममा तीनै गोल दोस्रो हाफमा गर्यो। दोस्रो हाफमा भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपाल दबाबमा परेको थियो।
खेलको ४९ मिनेटमा भारतका लागि कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरे। उनले प्रितम कोटलको क्रसमा हेडमार्फत गोल गरे। सुनीलले साफ च्याम्पियनसिप २०२१ मा पाँच गोल गर्न सफल भए। ५० मिनेटमा भारतले अग्रता दोब्बर पार्यो। सुरेश सिंहले भारतका लागि गोल गरे। मोहमद यासिरले उपलब्ध गराएको पासमा सुरेशले गोल गरे।
भातरका लागि तेस्रो गोल अब्दुल समादले गरे। उनले दोस्रो हाफको इन्जुरी टाइममा रहिम अलीको पासमा गोल गर्दै भारतको जित पक्का गरेका थिए।
यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो। तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुक्यो। नेपालले यसअघि खेलेका १२ संस्करणमा एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएको छ। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको थियो।
साफको उपाधि भिडन्तमा पराजित भएसँगै नेपालले भारतविरुद्ध लगातार नौं खेलसम्म जित निकाल्न सकेन।
नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो।त्यसयता भारतविरुद्ध खेलेका ९ मध्ये नेपाल ७ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्।