विश्वकपबाट एसियाको दुबै टिम बाहिरियो
विश्वकप २०२२ प्रतियोगिताबाट एसियाका अन्तिम दुई टिम नै बाहिरिएको छ ।
गएराती भएको अन्तिम १६ को खेलमा जापान क्रोएसीया संग र दक्षिण कोरिया ब्राजिल संग पराजित हुँदै घर फर्किएको छ ।
जापान विरुद्ध क्रोएसीया
अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसियाले बाजी मार्यो ।
ब्राजिल विरुद्ध दक्षिण कोरिया
स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो ।
खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । त्यस्तै खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै २-० गोलको अग्रता दिलाए ।
२९ औं मिनेटमा रिचार्लिसन र ३६ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिलको जित पक्का गरे।
खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ-होले एक गोल फर्काएपनि ब्राजिल ४-१ ले विजयी भयो ।