बिज्ञापन

सहकारीमा मिटरब्याज : १० लाख ऋणको ब्याज ८५ लाख

नवलपुर, चैत २६-

कावासोतीका रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन। व्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो। तर सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ।

‘चिन्ताले म डिप्रेसनको शिकार भएको छु। औषधि खानुपर्ने बनायो’, दीर्घनारायणले भने, ‘छोरा बिरामी छन्, रीतालाई तनावले थिचेको छ। यो तनावबाट परिवारै उम्किन सकेका छैनौँ।’

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, भुर्तेल परिवार २०७२ सालमा कावासोतीमा खुलेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचतकर्ता भए। त्यसको पाँच महिनापछि १० लाख रुपैयाँ लगानी गरेर शेयर सदस्य भए। सहकारीमा बचतकर्ताको रकम थपिँदै गयो।

सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक पुर्ख्यौली घर पर्वतका गाउँले भाञ्जा योगेन्द्र पाण्डे रहेको दीर्घनारायणले भने, ‘भाञ्जाले बिनाधितो ऋण लिन उकासेपछि २०७३ सालमा १० लाख रुपैयाँ ऋण लियौँ। अहिले त्यही १० लाख रुपैयाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ। साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपैयाँ सकिइसकेको छ।’

२०७७ सालमा १० लाखको ब्याज ६० लाख रुपैयाँ पुर्‍याइयो। त्यो ६० लाख असुल गर्नका लागि कावासोतीकै एक ठाउँको १८ कट्ठा र अर्को ठाउँको दुई बिघा जग्गा धितो राखेर कागज गराइयो। उक्त ऋण व्यवस्थापन गर्नका लागि २०७३ सालमा चितवनको नारायणघाटमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट बिनाधितो ३० लाख रुपैयाँ उपलब्ध गराइयो। छिपछिपे सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे नै सनराइज सहकारीको सचिव रहेको जानकारी दिइएको छ।

२०७८ सालमा छिपछिपेको ब्याज ७८ लाख रुपैयाँ पुगेको थियो। त्यसको २९ दिनपछि ब्याज बढेर ८५ लाख १६ हजार रुपैयाँ पुर्‍ याइयो। उता सनराइजको ब्याज महिना महिनामा तिरेको ३० लाख र छ महिना अघिसम्मको जोड्दा थप एक करोड २६ लाख रुपैयाँ पुगिसकेको थियो। त्यो ब्याज तिर्नका लागि भुर्तेल परिवार चार करोड रुपैयाँ पर्ने जग्गा दुई करोड रुपैयाँमै बेच्न बाध्य भयो र सनराइजको बाँकी रहेको एक करोड २६ लाख तथा छिपछिपेको ८५ लाख १६ हजार साँवा ब्याज तिरेर चुक्ता गरिसकेको छ।

यहाँसम्म आइपुग्दा भुर्तेल परिवारले सनराइजलाई एक करोड ५६ लाख रुपैयाँ र छिपछिपेलाई एक करोड १९ लाख रुपैयाँ गरी दुई करोड ७५ लाख रुपैयाँ बुझाइसकेको बताएको छ। जसमा २०७२ सालमा छिपछिपेमा राखेको १० लाख रुपैयाँबराबरको शेयरको हिसाबकिताब र मासिक बचतको हिसाब कतै देखिन्न। सनराइज सहकारी भने बचतकर्ताको रकम हिनामिना गरेर बन्द भइसकेको छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button