नेपालमा उडान गर्न थाई एयर एसियालाई प्रतिबन्ध

काठमाडौँ, कात्तिक १२-
नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ ।
उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए)को इजाजतसमेत खारेज गरिएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “आइतबारदेखि (कात्तिक ११ देखि चैत २४ सम्म) सुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको वायु सेवालाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा सम्पूर्ण उडान रद्द गरिएको छ । तत्कालका लागि उसको जिएसएलाई दिइएको अनुमतिसमेत खारेज गरिएको छ ।”
वायुयानलाई अनुमति नलिई काठमाडौँ ल्याउने काम सम्बन्धित जिएसए कम्पनीको भएकाले जिएसए खारेज गरिएको उनले बताए । थाई एयर एसियाको नेपालका लागि जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल हो । अनुमति नहुँदासमेत जहाजलाई नेपाल ल्याएको र नियामक निकायमाथिको अटेरीका कारण यसको जिएसए कारबाहीमा परेको उनले जानकारी दिए । प्राधिकरणका अनुसार आइतबारबाट एयर एसियाले भैरहवा विमानस्थलमा उडान गर्ने गरी काठमाडौँ विमानस्थलमा उडान गरिरहेको थियो ।
यो वायु सेवाले भैरहवाबाट उडान सुरु नगरेसम्म हिउँदे उडान तालिका अनुसार काठमाडौँमा मात्रै उडान गर्न नपाउने सर्त प्राधिकरणले राखेको थियो । उक्त सर्तको उल्लङ्घन गर्दै गर्मीयामको उडान तालिका अनुसार जहाज काठमाडौँ आएपछि कारबाही अघि बढाइएको हो । करिब एक घण्टा आकाशमै होल्ड गरिएको उक्त जहाजलाई अन्ततः विशेष चार्टर उडानको अनुमति दिएर अवतरण अनुमति दिइएको थियो ।
जहाजलाई धेरै समय होल्डिङ गर्दा यात्रु र हवाई सुरक्षामा पर्ने जोखिम र मानवीयताको विषयलाई हेरेर अवतरणको अनुमति दिइएको प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको उडान अनुमति शनिबार नै सकिएको थियो । उनले भन, “जहाज उडानका लागि समर र विन्टर सिजनको अनुमति लिनु पर्छ । समरको अनुमति शनिबार सकियो । आइतबारदेखि विन्टर सुरु भयो । विन्टरका लागि यो जहाजले उडान अनुमति लिएको थिएन तर एयर एसियाको नेपाल प्रतिनिधिले मिलाउँछु भनेका कारण जहाज नेपाल आएको देखिएकाले नियामक निकायले कारबाही अघि बढाएको छ ।”
यस समाचारको श्रोत : www.narayanionline.com हो ।