बन्यो घरेलु कामदारको कानुन,ग्राट्युटी समेत पाउने

घरेलु कामदारको हकहित तथा अधिकार सुरक्षित गर्न आमिर शेख तमिम विन हमद अल थानीले हिजो २०१७ को कानुन नम्बर १५ जारी गर्नु भएको छ।जारी भएको नयाँ कानुनको मुख्य विशेषता कामदारले प्रत्येक वर्षको कम्तिमा पनि तीन हप्ताको दरले इन्ड अफ सर्भिस (ग्राट्युटी) पाउने भएको छ।
कानुन साधारण मालिकको प्रशासन तथा रेखदेखमा काम गर्ने साधारण कामदारहरुमा लागु हुनेछ।जस्तै :सवारी चालक,मेड,कुक,माली लगायत मालिकको सेवा गर्ने र उनीहरू सँग बस्ने कामदारहरु यस कानुन भित्र पर्नेछन्।
नयाँ कानुनको भित्रको मुख्य विषयहरू
- प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयको सम्बन्धित विभागबाट लिखित करार पत्र अनुमोदित नभएसम्म घरेलु कामदार राख्न नपाउने।
- कामको करार पत्रमा सामान्य जानकारी सँगै कामको प्रकृति,दुई पक्ष बीच सहमत भएको तलब,तलब दिने मार्फत तथा मिति,करारको अवधि,नवीकरण र समाप्तिको अवस्था अरबिक भाषामा लेखिएको हुनुपर्नेछ।
- कामदारको उमेर १८ देखि ६० बीचको हुनुपर्नेछ।साथै मन्त्रालयको अनुमतिमा ६० भन्दा माथिको कामदार राख्न पनि पाइनेछ।
- मालिकले आफ्नै खर्चमा कामदारको उपयुक्त आवास,स्वास्थ्य उपचार,लुगाफाटा को जिम्मा लिनपर्नेछ।त्यस्तै कामदारलाई कुनै पनि हिसाबले मानसिक तथा शारीरिक शोषण गर्न पाउनेछैन।
- दुबैपक्षको सहमति बिना कामदारको छुट्टीको समयमा काम लगाउन नपाउने।
- कामदारलाई अर्को महिनाको पहिलो तीन दिन भित्र तलब दिनपर्ने। खातामा बुझाएको भए त्यसको प्रमाण देखाउन पर्ने।
- १० घण्टा भन्दा बढी काम लगाउन नपाउने।कामको अवधि भित्र प्राथना, खाना तथा विश्रामको समय छुट्याउन तर त्यो कार्य समयमा नजोडिने।
- हरेक हप्ताको १ दिन बिदा दिनपर्ने।दुई वर्षमा स्वदेश जाने बिदामा दोहोरो हवाई टिकट दिनपर्ने।छोडेर जाँदा एकतर्फी टिकट दिनपर्ने।
- आफ्नो घरेलु कामदारलाई कामदारको सहमति बिना देश बाहिर लान पाइनेछैन।यो अवस्था उल्लंघन गरेको खण्डमा कामदारले आफ्नो सबै हिसाब लिएर मालिक कै खर्चमा स्वदेश फर्कन पाउनेछन्।
सेवोपहार/ ग्राट्युटी/इन्ड अफ सर्भिस
- घरेलुकामदार ले कम्तिमापनि एक वर्ष काम गरिसकेपछि हरेक वर्ष न्युनतम तीन हप्ता अथवा २१ दिनको हिसाबले सेवोपहार (ग्र्याटुइटी)पाउने प्रावधान २०१७ को कानुन नम्बर १५ मा रहेको छ।यसको हिसाब कामदारले एउटै मालिकसँग काम गर्न थालेको सुरुको दिन देखि हुनेछ।
- यो कामदार र मालिक दुई पक्षबीचको सम्झौता अनुसार धेरै पनि हुनसक्दछ तर हरेक बर्ष २१ दिन भन्दा कमको हिसाबमा भने हुनपाउनेछैन।त्यस्तै कामदारको कुनै ऋण वा अन्य लेनदेन छ भने मालिकले यो हिसाब बाट कटाउन पाउने कानुनमा उल्लेख गरिएको छ।कामदारले करार अनुसार वा कानुन अनुरूप काम गर्न नसकेको खण्डमा मालिकले पूर्व सूचना र सेवोपहार बिना नै कामदरलाई घर पठाउन सक्नेछन्।त्यस्तै मालिकले पनि कानुन विपरीत कार्य गरेमा कामदारले सेवोपहार सँगै आफ्नो हिसाब लिएर करार भंग गर्न पाउनेछन्।
जरिवाना/क्षतिपूर्ति
- मालिक र कामदार बीचको समस्याको फैसला र कामको शिलशिलामा कामदारलाई लागेको चोटपटकको क्षतिपूर्ति यही श्रम कानुन अनुसार हुनेछ।
- कानुन अन्तर्गत आफ्नो अधिकार,क्षतिपूर्ति बारे मन्त्रालयमा उजुरी गर्न काम छोडेको अथवा काम करार सकिएको एक वर्ष भित्र गरिसक्नुपर्नेछ।
- कामदारको अधिकारमा वा काम लगाउने आवश्यक मापदण्ड उल्लंघन गरेमा ५ हजार कतारी रियाल र कामदारको भर्ती गर्ने उमेर उल्लंघन वा तलब नदिएको खण्डमा १० हजार रियाल सम्म जरिवाना हुनेछ।
कामदारको मृत्यु भएमा
कामदारको कुनै कारणवश मृत्यु भएमा मालिकले आफ्नै खर्चमा लास उसको स्वदेश पठाउनुपर्नेछ।यस्तो अवस्थामा मालिकले मन्त्रालयको सम्बन्धित विभागमा १५ दिन भित्र मृतक कामदारको सबै हिसाब किताब जम्मा गरिसक्नुपर्नेछ।
कामदारको कर्तव्य तथा दायित्व
- घरेलु काममा आबद्द भइसकेपछि कामदारले देशको कानुन,सामाजिक र धार्मिक परम्परा भित्र रहेर ईमान्दार पुर्वक काम गर्नुपर्ने हुन्छ।
- मालिकको गोपनीयता र सम्पतिको सुरक्षा गर्नुपर्ने तथा मालिकको परिवार र पाहुनाको ईच्छा विपरीत कार्य गर्न नपाउने।
- कानुन उल्लंघन नहुने,करार अनुरूप र आफ्नो ज्यान जोखिम नभएसम्म मालिकले लगाएको सबै काम गर्न पर्ने।
- मालिक बाहेक अरूको पैसा वा विना पैसामा काम गर्ने नपाउने। बृद्धा तथा बालक मालिकलाई अपहेलना गर्न नपाउने।

