दूतावासको तेस्रो अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

कतारस्थित नेपाली राजदूतावासको आयोजनामा गएको शुक्रबार नेपाली समुदाय एवं संघसंस्थारुसंग ‘शेरिङ एण्ड हेरिङ’ बिषयक अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।दूतावासले नियमित रुपमा सम्पन्न गरेको कार्यहरुको जानकारी दिने एवम् सम्बन्धितबाट सुझाव तथा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यका साथ शुरु गरिएको यस कार्यक्रम गत अक्टोबर देखि मासिक रुपमा सञ्चालन हुँदै आइरहेको छ।

कार्यक्रममा दूतावासको नियमित सेवा प्रवाह र नेपाल- कतार सरकारबीच सम्पन्न उच्चस्तरीय भेटघाट तथा छलफल सम्बन्धी विवरणहरु प्रस्तुत गरिएको थियो ।दूतावासले कार्तिक र मंसीर महिनामा प्रवाह गरेको सेवाहरु, राजदूतावासको नियमित सेवा प्रवाह एवम् आवश्यक कागजात, राजदूतावासलाई सम्पर्क गर्ने माध्यमहरु र उच्चस्तरीय कुटनीतिक बीच भएको भेटघाटका क्रममा भएका छलफलका मुख्य-मुख्य बिषयहरुको छुट्टाछुट्टै प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा राजदूतावासको प्रस्तुतीकरण पश्चात् सहभागीहरुको विभिन्न जिज्ञासाहरुको राजदूतावासको तर्फबाट पनि जवाफ दिइएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै कतारका लागि नेपाली राजदूत महामहिम प्रा. रमेश प्रसाद कोइरालाले कतारमा कार्यरत नेपालीहरुको समस्या समाधानका लागि कतारका उच्चस्तरीय भेटघाटका क्रममा भएको छलफलका मुख्य बिषयहरुका बारेमा प्रकाश पार्नुभयो।

सोही सन्दर्भमा महामहिम राजदूतज्यूले कतार सरकारले हालका दिनहरुमा श्रमिक हितलाई लक्षित गरि ल्याएको नयाँ नीति तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भयो । नेपाली राजदूतावास कतारमा कार्यरत नेपालीहरुको समस्या समाधानमा सदैव प्रतिबद्ध रहेको बताउँदै उहाँले नेपाली नागरिकहरुले राजदूतलाई भेटी आफ्ना गुनासो राख्न मिल्ने व्यवस्था समेत मिलाइएको जानकारी गराउनु भयो ।साथै उहाँले सो कार्यक्रममा उपस्थित भई आफ्नो जिज्ञासा तथा सुझाव राखिदिएकोमा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।साथै उहाँले कार्यक्रमको अर्को संस्करणमा भेट हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।