भोलिदेखि कतार एअरवेजले भैरहवामा नियमित उडान गर्ने

भैरहवा, कात्तिक २६-
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरवेजले उडान गर्ने भएको छ । भोलि (मंगलबा) देखि दैनिक रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरवेजले उडान गर्ने भएको हो ।
कतार एअरवेजले भोलिदेखि दोहा–भैरहवा–काठमाडौँ–दोहा उडान गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण गरेपछि भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाडौँ उड्ने र सोही जहाज दोहाका लागि काठमाडौँबाट बेलुका ६ बजे ५५ मिनेटमा उड्ने तालिका रहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कतार एअरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको छ । आउँदो मङ्सिर १५ गतेसम्मको लागि कतारले पेस गरेको उडान तालिका क्यानले स्वीकृत गरेको छ । कतारले यसअघि त्रिभुवन विमानस्थलमा दैनिक चार वटा उडान गर्दै आएकोमा स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द भएपछि कतारका दैनिक दुई वटा उडान भइरहेका छन् ।
भैरहवाबाट यसअघि थाई एअर एशिया, फ्लाई दुबई, जजिरा र नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।