नेपाल वायुसेवा निगमको वाइड बडीले दोहामा साताभरी उडान भर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ ।

वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही जुन २८ तारिक बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौं आइपुगेको विमान शुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ ।

वाइड बडी विमानले पहिलो गन्तव्यको रुपमा हाल उडान गरिरहेको दोहा, भारतको बैंगलोर र थाइल्याण्डको बैंककमा उडान भर्ने तयारी गरेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । दोहामा हप्ताभरी तथा बैंगलोर र बैंककमा हप्ताको चार दिन उडान भरिनेछ ।

प्रवक्ता श्रेष्ठका अनुसार नयाँ वाइड बडी विमानको व्यावसायिक उडानका लागि आवश्यक कागजी प्रक्रिया अन्तिमचरणमा पुगेको र एक-दुई दिनभित्रै परीक्षण उडान ‘प्रुभिङ फ्लाईट’ गरिनेछ । यो उडान छोटो दूरीको हुन्छ ।

भारतको नयाँदिल्ली उडान गरिने प्रवक्ता श्रेष्ठको भनाई छ । नयाँ विमानको एक पटक प्रोभिङ उडानपछि मात्र व्यावसायिक उडानमा लगिन्छ । विमान उडाउनका लागि छजना स्वदेशी विमान चालक (पाइलट) तयार भइसकेका छन् ।

काठमाडौं–जापान सिधा पनि उडान गर्ने

निगमको नयाँ वाइड बडी विमानले काठमाडौँ–सिधा उडान भर्ने योजना बनाएको छ । शुरुमा छोटो दुरीको प्रक्रिया पूरा गरी उडान शुरु गरेपछि आगामी असोज (सेप्टम्बरभित्र) जापान र क्रमशः दक्षिण कोरिया र साउदी अरेबियाको गन्तव्यमा उडान भर्ने निगमले जनाएको छ ।

प्रवक्ता श्रेष्ठले काठमाडौँबाट जापानको टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उक्त गन्तव्यमा हप्तामा तीन दिन उडान हुनेछ ।

निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेंगलोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो ।

निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीन वटा ट्विनअटर विमान छन् । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button