कोभिड-१९ खोपको कुनै साइड इफेक्ट छैन : डाक्टर मस्लामनि

हमाद अस्पतालका स्वास्थ्य निर्देशक डाक्टर यूसुफ अल मस्लामनिले कतारमा कोभिड-१९ को खोप अभियानमा अहिलेसम्म खोप लिने कसैलाई पनी नकरात्मक प्रभाव नदेखिएको बताउनुभएको छ ।
कतार टिभीको एक कार्यक्रममा बोल्दै डाक्टर मस्लामनिले खोप अभियान संगै भाइरसको महामारी अन्त्यको सुरुवात भएको बताउनुभएको छ । खोप ७० देखो ८० प्रतिशत जनसंख्याले लगाउनु निकै नै महत्वपूर्ण रहेको उहाँले बताउनुभएको छ ।
खोप लगाउन तोकिएको लक्षित वर्गका मानिसहरु विशेषगरी बृद्ध तथा दीर्घकालीन रोग भएका व्यक्तिहरुको चाप विगत केही दिनमा उल्लेखनीय रुपमा बढेको छ । ती व्यक्तिहरुले खोपको अर्को डोज अबको २१ दिनमा लगाउनुपर्नेछ ।
विगत नौ महिनादेखिको धैर्यता र महामारीको समयमा भाइरस विरुद्ध सावधानीका उपाय अनुसरण गर्दै उल्लेखनीय योगदान पुर्याउने कतारका वासिन्दालाई उहाँले धन्यवाद दिनुभएको छ । नयाँ खोपको बारेमा केही व्यक्तिहरूको डर र चिन्तालाई पनि आफुले बुझेको बताउनुभएको छ ।
यो सामान्य कुरा हो कि मानिसहरूलाई कुनै नयाँ आविष्कार वा प्रविधिको बारेमा शंका हुन सक्दछ तर स्वास्थ्य मन्त्रालयले अनुमोदित वैज्ञानिक अनुसन्धान र अध्ययनमा निर्भर हुँदै सोही अनुसार त्यसको उचित मूल्यांकन गर्दछ।
“मन्त्रालयले आफ्नो जानकारी कहिले पनि मिडियामा प्रसारित अपवाहबाट लिदैन। यसबाहेक नयाँ खोपको बारेमा सबै उपलब्ध जानकारीले यो सुरक्षित र अत्याधिक प्रभावकारी छ भनेर पुष्टि गर्दछ र यसमा डर वा चिन्ता लिनुपर्ने कुनै कारण छैन”,डाक्टर मस्लामनिले जोड दिनुभयो ।
बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार खतरनाक नभएर बढी सन्क्रामक मात्रै रहेको छ । वैज्ञानिक रूपमा सबैलाई थाहा छ कि भाइरस उत्परिवर्तनको बिभिन्न चरणहरूमा जान्छ, यो केवल छिटो मात्र फैलिन्छ।
खोप बनाउने कम्पनीका अनुसार यो कोरोनाभाइरसको नयाँ प्रकार विरुद्ध पनि प्रभावकारी छ,” उहाँले भन्नुभयो ।