लमजुङ समाजको दशैं तिहार शुभकामना तथा सांगीतिक कार्यक्रम सम्पन्न

सीताराम थापा
लम्जुङ सेवा समाज,कतारले आयोजना गरेको विजयदशमी तथा दीपावली शुभकामन आदानप्रदान एवम् सांगीतिक वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
दोहा देखि करिब ४० किलोमीटर पश्चिममा पर्ने शाहानिया स्थित अलदोसरी पार्कमा सम्पन्न भएको कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक दोहोरी गायिका मन्जु बिकले आफ्ना थुप्रै साङितिक प्रस्तुती मार्फत उपस्थित दर्शकहरुलाई नचाउन सफल भइन्।
लम्जुङ तथा आसपास क्षेत्रमा प्रख्यात ठाडो भाकामा पनि विशेष दक्खल भएकी गायिका मन्जुले स्टेज बाट ठाडो भाकाका दुई चार टुक्का छोड्न थाले पछि उपस्थित दर्शकहरु नाच्न थालेका थिए ।क्रमश एक पछि अर्को गर्दै उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरिन्।
स्थानिय कलाकारहरु दिपक कमली ,अजित अविरल , रित कुमार श्रेष्ठ , रिना तिमिल्सिना, कमला गुरुङ तथा नेपाल तामाङ कलाकार संघका कलाकारहरुको थुप्रै साङितिक प्रस्तुतिहरुले कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रमको बिच समयमा अल दोसरी पार्कका मालिकले नेपाली समुदायलाई शुभकामना तथा धन्यवाद दिएका थिए भने दोसरी पार्कका तर्फबाट दुई जना जादुगरले खुब अनौठा र अपत्यारिला जादुकला प्रदर्शन गरेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
स्थानिय दोहोरी गायक लेख बिलास बिसुराल र मन्जु बिक को ” आधी खोला उर्लेर आयो ” भाकाको दोहोरी घम्साघम्सीले दर्शकलाई प्रवासमै दोहोरी गितको प्यास मेटाएको थियो । उता लोपन्मुख ठाडा भाकाका अर्का नवोदित गायक ठाकुर गुरुङ( राइनासे कान्छो ) ले पनि मौकामा चौका हान्दै मन्जु बिक सङ ठाडा भाकाको दोहोरी झटारो हान्न भ्याएका थिए ।
दोहाका विभिन्न नेपाली सामाजिक संघ संस्था , जिल्ला संस्थाहरू , राजनितिक भात्री संगठन , सांगीतिक संस्था , जातिय संस्था आदिका प्रमुख तथा प्रतिनिधि एवम समाजसेवी ,सामाजिक अभियन्ता , व्यवसायी तथा बुद्धिजीवीहरु , पत्रकारहरु लगायतको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रममा मन प्रसाद राना मगर , करिम बक्स मिया , शनि कुमार ओलि , ईश्वर काफ्ले , कृष्ण बराल , हुसेन खान र सुदर्शन भट्ट आदिले उपस्थित सबैलाई विजयादशमी तथा दिपावलीको शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष बिष्णु लाल श्रेष्ठको अध्यक्षता , मन्जु बिक को प्रमुख आतिथ्यता रहेको उक्त रलल कार्यक्रममा प्रथम उपाध्यक्ष खुसीराम गुरुङ ले उपस्थित सबै जनालाई स्वागत गर्दै स्वागत मन्तब्य राखेका थिए भने संस्थाका महासचिव सिताराम थापा र सचिव युवराज गुरुङले कार्यक्रम सन्चालन गरेका थिए ।
आउन पाइनन् गायिका तथा नृत्यांगना भावना आचार्य
अर्का चर्चित गायिका तथा नृत्यांगना भावना आचार्यको कार्यक्रममा प्रस्तुति रहेको भएपनि दुर्भाग्यवस त्यो सम्भव हुन सकेन ।उनलाई संस्थाका सल्लाहकार कृष्ण बरालको बिशेष सहयोगमा सो कार्यक्रममा निमन्त्रणा गरिएको भएता पनि उनको पासपोर्टमा देखिएको त्रुटीका कारण कतार विमान स्थल आइपुगेर पनि कार्यक्रममा उपस्थित हुन नसकी फर्कनु परेको पीडा भने कार्यक्रम अवधिभर महसुश भयो।
गायिका मन्जुलाई सम्मान
लम्जुङ सेवा समाज कतारले दशैं तिहार शुभकामना आदान प्रदान तथा रमाइलो सांगीतिक कार्यक्रमको समापन पछि हिजो बेलुका गायिका मन्जु बि.क लाई दोहाको वेलकम रेस्टुरेन्टको सभा हलमा सम्मान तथा रात्री भोज गरि बिदाइ गरेको छ । सो कार्यक्रममा विश्वकर्मा सेवा समाज कतारको तर्फ बाट पनि उनलाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान तथा विदाई गरिएको थियो ।
उक्त कार्यक्रममा मन्जुले कतारमा आफू प्रती लम्जुङे तथा गैर लम्जुङे नेपाली समुदायले गरेको माया र सम्मान आफुले कल्पना गरेको भन्दा पनि बढि पाएको भन्दै आयोजक र सबै सहयोगीहरु लाई धन्यवाद व्यक्त गरेकी थिइन् ।



