सामसुङको एस ८ र एस ८ प्लस सार्वजनिक, के छ विशेषता ?

‘स्मार्टफोनको नयाँ दुनियामा स्वागत छ।’ न्यु कटिङ एज प्रणालीमा आधारित इन्फिनिटी डिस्प्लेका साथ सोमबार बेलुकी कतारमा सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक भयो।
सामसुङको बहुप्रतिक्षित फ्ल्यागसिप स्मार्टफोनको रूपमा रहेको ग्यालेक्सी एस ८ र एस ८ प्लस डिजाइन र प्रविधिको हिसाबले नयाँ दुनियामा प्रवेश गरेको छ। कार्यक्रममा सामसुङ गल्फ मोबाईल अाइटी प्रमुख टरेक सब्बघले कतारी स्मार्टफोन प्रयोगकर्ताका लागि यो एउटा नयाँ र नौलो उपहार भएको बताउनुभयो।
उहाँका अनुसार यो स्मार्टफोन डिजाइनका हिसाबले सबैभन्दा उत्कृष्ट छ। अर्को यसमा प्रयोग भएको इन्फिनिटी डिस्प्ले हो। बेल्ज-लेस डुअल एज-टु-एज डिस्प्लेको प्रयोगले स्मार्टफोनलाई नयाँ रूप प्रदान गरेको छ। यसले स्क्रिनको साइजमा १८ प्रतिशत वृद्धि हुनेछ। यो डिस्प्ले गोरिल्ला ग्लास फाइभद्वारा सुरक्षित गरिएको छ।
मल्टिटास्किङ र प्रविधिमैत्री स्मार्टफोनको रूपमा बजारमा आएको यस स्मार्टफोनमार्फत सामसुङले’होम कि’ लाई विस्थापित गरेको छ। फिजिकल होम किको प्रयोग गर्दै आएको कम्पनीले एस ८ बाट सेन्सरमा आधारित होम किलाई प्रयोगमा ल्याएको छ।
१० एनएम प्रोसेसरमा आधारित यी स्मार्टफोनमा पहिलेको तुलनामा २० प्रतिशत ब्याट्री खपत कम हुनेछ। स्थापितका अनुसार एस ८ र एस ८ प्लसमा सामसुङको नक्स सुरक्षा प्रणालीको प्रयोग गरिएको छ। यसमा पहिलो पटक कम्पनीले आइरिस स्क्यानरको प्रयोग गरेको छ जुन सबैभन्दा सुरक्षित बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम हो।
एस ८ र एस ८ प्लस स्मार्टफोनमा क्रमशः क्यूएचडी सुपर एमोलेड ५.८ इन्च र ६.२ इन्चको डिस्प्ले प्रयोग गरिएको छ। क्यूएचडी सुपर एमोलेड सफा, उज्यालो र रंगिन डिस्प्लेका लागि परिचत छ। फोनमा रिजोलुसन १४४० गुणा २९६० र १४४० गुणा २९६० पिक्सेल छ।
क्वालकम स्न्यापड्रागन ८३५ प्रोसेसर स्मार्टफानको अर्को आकर्षक पक्ष हो। क्वालकमको टप अफ द लाइन प्रोसेसरका साथ आउने स्मार्टफोन यो नै पहिलो भएको स्थापित बताउनुहुन्छ। ग्यालेक्सी एस ८ र एस ८ प्लसमा क्रमशः ४ गुणा २.३५ गिगाहर्ज र ४ गुणा १.९ गिगाहर्ज अक्टाकोर चिपेस्ट क्रियो सीपीयू छ। चार जीबी र्याम प्रयोग भएका यी स्मार्टफोनमा ६४ जीबी रोम छ। यसलाई माइक्रोएसडी कार्डद्वारा बढाएर दुई सय ५६ जीबीसम्म पुर्याउन सकिनेछ। उक्त दुवै स्मार्टफोनमा डुअल १२ मेगापिक्सेलको रियर क्यामरा र आठ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ।
एस ८ स्मार्टफोनमा ३,००० एमएएच तथा एस ८ प्लसमा ३,५०० एमएएचको ब्याट्री प्रयोग भएको छ। ब्याट्री चार्जका लागि स्मार्टफोनमा वायरलेस र फास्ट चार्जिङ सपोर्ट सिस्टम छ। यसका साथै यी स्मार्टफोन आईपी ६८ प्रमाणित छन्।
यसमा प्रयोग भएको डस्ट एन्ड वाटर रेसिस्टेन्ट प्रविधिले धुलो तथा पानीबाट फोनलाई बचाउन सहयोग गर्ने कम्पनीले जनाएको छ। स्टेरियो स्पिकर र ३.५ एमएमको हेडफोन ज्याकसहित यी स्मार्टफोनमा एकेजी हेडफोन उपलब्ध हुनेछ।
सार्वजनिक भए पनि कतारको बजारमा यही अप्रिल २८ तारिक मात्र उपलब्ध हुनेछ । मिडनाइट ब्ल्याक, कोरल ब्लु, म्यापल गोल्ड, अर्किड ग्रे, तथा आर्टिक सिल्भर कलरमा आउने एस ८ र एस ८ प्लस स्मार्टफोनको मूल्य क्रमशः २,७९९ र ३१४९ रियाल तोकिएको छ।