कतार कसरी फर्कने ?

कतार आउनको लागि चाहिने ईन्ट्री परमिटको फारम आज देखि खुला भएको छ ।

कोभिड-१९ को महामारीका कारण कतार बाहिर फसेका नागरिकहरु फर्काउन कतारले यो अस्थायी अपवादात्मक प्रवेश अनुमति सेवा आज देखि सुरु गरेको हो । कतारी नागरिक,आप्रवासी कामदार,आईडी भएका नागरिकको परिवार लगायत व्यवसायिक भिसामा तथा पर्यटक भिसामा आउनेले परमिटको लागि आवेदन दिन पाउनेछन् । तत्कालको लागि स्वास्थ्यकर्मी , विभिन्न सरकारी र अर्ध-सरकारी क्षेत्रहरूको अत्यावश्यक कर्मचारी लगायतलाई प्राथमिकताको आधारमा कतार प्रवेश गर्न दिइनेछ।

कम्पनीले आफ्नो कामदारको लागि र नागरिक स्वयमले पनि फारम भरेर परमिट लिन पाउनेछन् ।

त्यसका लागि फारम भर्ने व्यक्ती वा कम्पनीले खाता खोल्नुपर्नेछ । फारम भर्न आफ्नै आईडी बाट सिम निकालिएको हुनुपर्नेछ । सिम आफ्नै आईडीमा नभए खाता सुरु गर्न सम्वन्धित सिम कम्पनीको कल सेन्टर सम्पर्क गर्न सकिनेछ ।

खाता खोलिसकेपछि कामदारको लागि अथवा परिवारको लागि भनेर छान्नुपर्नेछ । कामदारको लागि फारममा आफ्नो देशको नाम,फोन नम्बर,कतार बाहिर बसेको समय तथा त्यसको प्रमाणको कागज,इमेल ठेगाना लगायतको विवरण भर्नुपर्नेछ ।

पारिवारिक स्पोन्सरसिपको लागि नाम,आईडी नम्बर फारमको शुल्क लगायतको विवरण भर्नुपर्नेछ ।

कम्पनीले आफ्नो कामदारको लागि फारम भर्नुपरे कम्पनीको दर्ता नम्बर,कामदारको आईडी लगायत अन्य विवरण भर्नुपर्नेछ ।
कतार बाहिर बसेको देशको नाम,त्यहाँ बसेको समयले कतार आईसकेपछी क्वारेन्टाइनमा बस्नुपर्ने अवधीको निर्धारण गर्नेछ ।

परमिट निस्कन ७२ घण्टा वा बढीको समय लाग्नेछ ।

परमिटको समयावधि एक महिनाको हुनेछ । परमिटको निस्केको एक महिनाभित्र कतार आउन नसके पुन परमिट निकाल्नुपर्नेछ ।

 

क्वारेन्टाइन बस्न कहाँ बुकिङ्ग गर्ने ?

डिस्कोभर कतारले कम्पनीका कामदार,घरेलु कामदारका लागि १४ दिने क्वारेन्टाइन प्याकेज सार्वजनिक गरेको छ । यसअघि वेबसाइट मार्फत ३ देखि ५ तारे होटेलमा ७ दिनको क्वारेन्टाइन प्याकेज मात्र उपलब्ध थियो।

सार्वजनिक गरिएको १४ दिने प्याकेज मेकाइनेस मोटेल अन्तर्गत कोठाहरु अल शिहानिया र सल्वा रोडमा रहेको मेकाइनेसमा अवस्थित छ।

उपलब्ध कोठाको वर्गीकरण

पुरुषको लागि मात्र एकल कोठा
पुरुषहरुको लागि साझा कोठा
महिलाको लागि एकल कोठा
महिलाको लागि साझा कोठा

कोठा कतार आउन कम्तिमा पनि ४८ घण्टा अगाडी बुक गर्नुपर्नेछ। कम्पनी मार्फत आउन कम्तिमा पनि ३ जना सम्म हुनुपर्नेछ र एउटै उडानमा आउनुपर्नेछ।

शुल्क

कोठाको शुल्क प्रति दिन १०५ रियालको दरले हुनेछ। एकल कोठामा बस्नेले थप १४०० रियाल र साझा कोठामा बस्नेले ७०० रियाल थप शुल्क तिर्नुपर्नेछ । उक्त थप शुल्क १४ दिन भन्दा बढी बस्नु नपरे फिर्ता गरिनेछ । क्वारेन्टाइन बस्दा भाइरस देखिए १४ दिन भन्दा बढी बस्नुपर्ने हुन्छ। वेबसाइटमा राखिएको विवरण अनुसार समग्रमा क्वारेन्टाइन बस्न २,१६९ देखि ४,३०३ रियाल सम्म पर्नेछ । त्यसमा लाग्ने शुल्क कम्पनीले बेहोर्न सक्नेछन् ।

कतारले अगस्ट १ तारिक देखि आप्रवासी कामदारलाई प्रवेश दिने निर्णय गरेसंगै विभिन्न देशबाट कामदार र उनीहरुको परिवार आउने क्रम जारी छ । सरकारले कोभिड-१९ बाट कम प्रभावित ८० राष्ट्रको निकालेको सुचीमा परेका देशका नागरिकले सिधै होम क्वारेन्टाइनमा बस्नेगरि कतार आउन पाउनेछन्  । तर त्यस सूचीमा नेपाल लगायत भारत,पाकिस्तान,बाङ्लादेश जस्ता साधारण कामदार भएको देशको नागरिकले केही प्रक्रिया पूरा गरि प्राथमिकताको आधारमा हाल कतार आउन पाउने सरकारले प्रावधान रहेको छ । साथै आईडी प्राप्त गरिसकेका नयाँ कामदार पनि अगस्ट देखि आउन पाउनेछन् ।

सूचीमा परेको देशको नागरिकहरुको लागि

भाइरसबाट कम प्रभावित देशको सूचीमा परेका नागरिक सिधै कतार आउन पाउनेछन् । हमाद विमानस्थल उनीहरुको पीसीआर परिक्षण गरिनेछ र होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धताको पत्रमा हस्ताक्षर गर्न लगाइनेछ । २४ घन्टा भित्र गरिएको परिक्षण रिपोर्ट साथमा ल्याए विमानस्थल भाइरसको जाँच गर्नुपर्दैन । त्यसपछि आफ्नै कोठा वा डेरामा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । क्वारेन्टाइन बसेको छैठो दिनमा सरकारी मान्यता प्राप्त स्वास्थ्य संस्था बाट भाइरसको पुन जाँच हुनेछ । भाइरसको नतिजा नेगेटिभ आए काममा फर्कन दिईने र पोजेटिभ आए आइसोलेसनमा राखिनेछ ।

 

सूचीमा नपरेको देशको नागरिकहरुको लागि

१. नेपाल जस्तै सुचिमा नपरेको देशका नागरिकहरुलाई प्राथमिकताको आधारमा इन्ट्री परमिट लिएर मात्र कतार प्रवेश गर्न दिइनेछ ।

२. कम्पनीलाई सम्पर्क गरि कामदार आफैले परमिट लिन सक्ननेछन् । कतार पोर्टल(हुकुमी) को वेबसाईट मार्फत अगस्ट १ देखि मात्र लिन सकिने परमिटको प्रक्रिया पहिले खुरुज पेपर लिए जस्तै रहेको छ ।

३. परमिट प्राप्त गरिसकेपछि कतार सरकारले तोकेको डिस्कोभर कतार नामको वेबसाईट बाट अनिवार्य १४ दिनको होटेल बुकिङ गर्नुपर्नेछ । यो समाचार तयार पार्दा सम्म १४ दिनको होटेलको शुल्क १,९५० रियाल देखि माथी रहेको छ । न्यून तलब भएका कामदारहरुको लागि सरकारले छुट्टै क्वारेन्टाइन सेन्टर उपलब्ध गराउनेछ र त्यसमा लाग्ने शुल्क कम्पनीले बेहोर्नपर्ने जनाईएको छ ।

४. कतार आएपछि यात्रुहरुको हमाद विमानस्थलमा पीसीआर परिक्षण गरिनेछ र सिधै बुक गरिएको होटेल लगिनेछ ।

५. होटेल क्वारेन्टाइनमा बसेको छैठो दिनमा भाइरसको पुन जाँच गरिनेछ । भाइरसको नतिजा पोजेटिभ आए आइसोलेसनमा राखिनेछ र नेगेटिभ आए पुन अर्को हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

६. त्यसपछि एह्तेराज एपमा हरियो कोड आए काममा फर्कन पाईनेछ ।

स्वास्थ्य मन्त्रालयको अनुसार सिधै होम क्वारेन्टाइनमा बस्न पाउनेहरुको सूची

१. ५५ वर्ष भन्दा माथिका व्यक्ति
२. मेरुदण्ड वा कुनै अङ्ग प्रत्यारोपण गरेका बिरामी
३. जसले इम्युनोसप्रेसिभ थेरापी प्राप्त गरेका बिरामी
४. मुटु सम्बन्धि समस्या भएका बिरामी
५. दमका बिरामी
६. क्यान्सरका बिरामी
७. गर्भवती महिला
८. पाँच वर्ष भन्दा मुनिका बालबालिकाको रेखदेख गर्ने सहयोगी
९. मृगौला बिरामी
१०. कलेजो बिरामी
११. अपाङ्ग
१२. उच्च रक्तचापका बिरामी
१३. मधुमेहका बिरामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button